झापा । झापाको बाह्रदशी गाउँपालिकामा एक जना औषधि व्यवसायी र एक स्थानीय नेतालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

गाउँपालिकामा ‘ट्राभल हिस्ट्री’ नभएका उनीहरुलाई कोरोना संक्रमण देखिएको हो । बाह्रदशी गाउँपालिका २ र ३ मा समुदाय स्तरमा पहिलो पटक कोरोना संक्रमण देखिएको हो ।

यसअघि १२ जनालाई कोरोना संक्रमण देखिएको थियो । उनीहरु भारत लगायतका देशबाट फर्किएका थिए । संक्रमित दुवै जनालाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लगाईले जानकारी दिनुभयो ।

बाह्रदशीमा समुदायस्तरमा संक्रमण देखिएकाले मास टेस्टिङ गरिने चम्लगाईको भनाई छ । यसैबीच, गाउँपालिकाले सूचना जारी गरी भोलिदेखि बाह्रदशी गाउँपालिकाको वडा नं १ ,२ र ३ अनिश्चित समयका लागि सिल गरिने जनाएको छ । अर्को सूचना जारी नभएसम्मका लागि संक्रमित क्षेत्रभित्रका तीनवटा वडा सिल गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीले बताए ।

जिल्लामा पहिलो पटक बाह्रदशीमा सुरक्षाकर्मीबाहेक समुदायका ब्यक्तिमा कोरोना सरेको पाइएको हो ।

चार दिनअघि क्वारेन्टाइनमा बसेका ब्यक्ति, जनप्रतिनिधि, स्वास्थ्यकर्मी र राजनीतिक कार्यकर्ता गरी २६ जनाको स्वाब संकलन गरी पठाइएको थियो । त्यसमध्ये समुदायका ती दुई जनामा संक्रमण पुष्टि भएको हो ।

उनीहरुलाई कहाँबाट र कसरी कोरोना सर्यो भन्ने थाहा हुन नसकेको अध्यक्ष राजवंशीले बताए । ‘बाहिर बढी हिँड्ने भएकाले चार दिनअघि मैले उहाँहरुलाई बोलाएर स्वाब संकलन गर्न लगाएको थिएँ’, उनले भने , ‘कसरी सर्यो खोज्नै पर्छ ।’

यसअघि मेचीनगरपालिकामा सीमाको सुरक्षाका लागि खटिएका २० जना सशस्त्र प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

योे संगै झापामा कोरोना संक्रमितको संख्या ३४८ पुगेको छ । कोरोन जितेर झापामा हालसम्म ३०४ जना घर फर्किएका छन् ।