झापा । सीमावर्ती झापा गाउँपालिकामा लागूऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागी एकजना घाइते भएका छन् । उनलाई २ गोली लागेको बताइएको छ ।

 

आज (सोमबार) साँझ ६ बजेको समयमा झापा गाउँपालिका वडा नम्बर ३ कामाटोली बजारस्थित अक्कलबहादुर विश्वकर्माको घरको तेस्रो तल्लामा लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट प्रहरी खटिएको थियो ।

 

संयुक्त प्रहरी टोलीले झापा गाउँपालिका ४ स्थित खैरबारी बस्ने २५ वर्षीय सरिफुल आलमलाई नियन्त्रणमा लिन खोज्दा उनले आफ्नो साथमा रहेको दाउ र खुकुरीबाट प्रहरीमाथि आक्रमण गर्न खोजेका थिए ।

 

प्रतिरक्षास्वरुप प्रहरीले गोली चलाउँदा उनको बाँया खुट्टाको तिघ्रा र पिँडुलामा २ राउण्ड गोली लागेको थियो । घाइते भएका मियालाई नियन्त्रणमा लिने क्रममा उनको साथबाट ११६ ग्राम ६० मिलिग्राम ब्राउनसुगर, एक थान दाउ र एक थान खुकुरी बरामद भएको प्रहरीले जनाएको छ ।

 

उनलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाई घटना सम्बन्धमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताएका छन् ।