बिर्तामोड । अवैध रुपमा सुर्तीजन्य पदार्थको कारोबार गर्ने झापाको बिर्तामोड–३ बिर्ताबजारस्थित अन्जु किराना पसलको गोदाममा प्रहरीले छापा मारेको छ ।
बिना राजश्वको स्टिकर र भारतबाट भन्सार छली अवैधरुपमा ल्याइएको सुर्तीजन्य सामान बिक्री वितरण गरेको पाइएपछि इलाका प्रहरी कार्यालय अनारमनीले गोदाममा छापा मारेको हो ।
प्रहरीले राजश्वको स्टिकर नभएको राधाकृष्ण प्रोडक्स विराटनगरको उत्पादन झुमका सुपरपावर १ बोरा र अवैधरुपमा भारतबाट भित्र्यिाएर राखिएको बादशाह खैनी ६ बोरा, बाबा खैनी ६ बोरा बरामद गरेको छ ।
एक लाखभन्दा बढी मुल्य बराबरको बरामद सुर्तीजन्य पदार्थ आवश्यक कानुनी प्रक्रियाका लागि आन्तरिक राजस्व कार्यालय भद्रपुरमा बुझाइएको इप्रका अनारमनीका डिएसपी मुकुन्द रिजालले जानकारी दिनुभयो ।
पछिल्लो समय लकडाउन खुलेसँगै सिमावर्ती क्षेत्रमा अवैधधन्दा मौलाएको छ । प्रहरीले नियन्त्रण प्रयास गरेको दाबी गरे पनि रातारात प्रहरीकै मिलेमत्तोमा सुर्तीजन्य पदार्थ भित्रिरहेको सिमावर्ती क्षेत्रका बासिन्दाको भनाई छ ।
यसरी अवैधतवरबाट भित्रिएका रंजनीगन्धा, राजनिवास, गुट्खा, तयारी खैनी, सुर्ती अहिले झापाका बजारमा छ्यापछ्याप्ती पाइन्छ ।