शनिश्चरे । पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा ७ स्थित अर्जुनधारा जलेश्वरधाममा ४४औं वार्षिक अनुष्ठानअन्तर्गत श्रीमद् भागवत महापुराण हुने भएको छ ।
आगामी मंसिर १४ गतेदेखि २१ गते बालाचर्तुदशीका दिन सत्बीज रोपण गर्दै सम्पन्न हुने महापुराणको विषयमा शुक्रबार धाम व्यवस्थापन समितिद्वारा आयोजित पत्रकार भेटघाटमा बताइएको छ ।
महापुराणको प्रमुख कथावाचक भारतको सिक्किमस्थित मंगलधामका श्री १०८ प्रमोद सुधाकर महाराजजी, सम्पूर्ण यज्ञ अनुष्ठानको प्रमुख आचार्यत्व धामका मूलअर्चक पण्डित अग्निप्रसाद सिग्देल, उपवाचक अर्जुनधारा संस्कृत वेद विद्यापीठका ध्यान शिक्षक पण्डित चिरञ्जिवी ढुंगाना, यज्ञाचार्य विद्यापीठका प्राचार्य पण्डित हेमन्त भण्डारी, गणेश विद्यार्थी र कर्ता मेदनांसेवन्ता ढुंगेल दम्पत्ती रहेका छन् ।
महापुराणको अनुमानित आम्दानी ५५ लाख २० हजार रुपैयाँ, खर्च ३९ लाख ३५ हजार रुपैयाँ र बचत १५ लाख ८५ हजार रुपैयाँ रहेको समितिका महासचिव शिवलाल खतिवडाद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ । महापुराण सम्पन्न गर्न विभिन्न २१ वटा उपसमिति गठन गरिएको बताइएको छ ।
यसैबीच, अर्जुनधारा हाफ म्याराथन प्रतियोगिता हुने भएको छ । तत्कालिन ७०को दशकमा सचेत युवा मञ्च अर्जुनधाराले शुरु गरे पनि विगत धेरै वर्षदेखि स्थगित भएको थियो । यसवर्ष मंसिर ९ गते हुने म्याराथन प्रतियोगिता हुने भएको छ ।
धार्मिक गतिविधिसँगै शिक्षा, स्वास्थ्य र सामाजिक गतिविधि सञ्चालन गर्दै आएको धामले यस वर्षदेखि खेलकुदलाई पनि जोड्ने उद्देश्यले यस प्रतियोगिताको आयोजना गरिएको समितिका अध्यक्ष नविनकुमार गट्टानीले जानकारी दिए ।
पुरुष र महिला दुवै विधाका प्रथम, द्वितीय, तृतीय र चौथोदेखि दशौं हुने खेलाडीले नगद पुरस्कार क्रमशः एक लाख एक हजार, ७५ हजार एक, ५१ हजार एक र जनही १० हजार नगद पुरस्कार सामाजिक व्यक्तित्व सुधादेवी गट्टानीले सौजन्य गर्ने बताइएको छ ।