बुधबारे । झापाको बुद्धशान्ति गाउँपालिकाले पाँच दिन अर्थात भदौ ९ गतेसम्मका लागि लक डाउन लम्ब्याएको छ ।

श्रावण २९ गतेदेखि आज राति १२ बजेसम्म लकडाउन गरिएकोमा पुनः दोस्रो चरणमा लक डाउनको समयावधि थप गरिएको हो ।

बिहिबार बसेको गाउँ कार्यपालिकाको बैठकले लक डाउन लम्ब्याउने निर्णय गरेको गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले बताए । साउन २७ गते बुद्धशान्तिमा ८१ जनाको पिसिआर टेष्टका लागि स्वाव संकलन गरि पठाइएकोमा ८० जनाको रिपोर्ट नेगेटिभ आएको थियो ।

तर, एक जनाको रिपोर्ट पोजेटिभ आएको र उनी एक लघुवित्तमा काम गर्ने कर्मचारी समेत भएकाले गाउँपालिकामा थप कोरोना समुदायमा फैलिएको आशंका गर्दै लकडाउन गर्न बाध्य भएको अध्यक्ष भुजेलले बताए ।

कोरोना भाइरसको संक्रमण तीव्ररुपमा फैलदै गएपछि झापाका स्थानीय तहले एकपछि अर्को गर्दै लक डाउन गर्न थालेका छन् । संक्रमण नियन्त्रण एवम् रोकथामका लागि स्थानीय तहले धमाधम लक डाउन गरिरहेका छन् ।

संक्रमणको अवस्था विश्लेषण गरेर आवश्यक कदम चाल्न सक्ने निर्णय प्रदेश १ सरकारले गरेपछि स्थानीय तहलाई लक डाउनको लागि बाटो खुलेको छ ।

हालसम्म बुद्धशान्तिसहित झापाको अर्जुनधारा, मेचीनगर, बिर्तामोड शिवसताक्षी, बाह्रदशी, दमक, कमल, गौरीगन्ज गाउँपालिकामा समेत लक डाउन गरिएको छ ।