महोत्तरी । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पहिलो पटक स्वास्थ्यकर्मीको ज्यान गएको छ । जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका अनुसार मनरा शिसवा नगरपालिका ४ का ४० वर्षीय हेल्थ असिस्टेन्टको चमर दिनअघि ज्यान गएको थियो ।
कोरोना सङ्क्रमण पुष्टि भएपछि उहाँलाई उपचारको लागि महोत्तरीबाट काठमाण्डौ ल्याउँदै गर्दा काभ्रेको भकुण्डेबेसीमा ज्यान गएको हो । गाउँमै औषधि पसल सञ्चालन गरिरहनुभएका उहाँ बिरामीको सेवामा सक्रिय हुनुहुन्थ्यो ।
गएको भदौ ७ मा बिरामी परेपछि उहाँको महोत्तरीमै उपचार भइरहेको थियो । तर अवस्था झन् गम्भीर भएपछि थप उपचारको लागि उहाँलाई काठमाण्डौ लगिँदै थियो ।
जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख नगेन्द्रप्रसाद चौधरीले ती स्वास्थ्कर्मीको ज्यान गइसकेपछि काठमाण्डौमै गरिएको स्वाब परीक्षणमा कोरोना पुष्टि भएको बताउनुभयो ।
ज्यान गुमाउनुभएका स्वास्थ्यकर्मीमा मधुमेहसँगै पत्थरीको पनि समस्या थियो ।
यसैबीच महोत्तरी प्रशासनले जिल्लाभर आउँदो भदौ २२ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याएको छ ।
यसअघि जारी गरिएको निषेधाज्ञाको समय सोमबार राति १२ बजे समाप्त भएकोले भदौ २२ गते राति १२ बजेसम्मको लागि फेरि निषेधाज्ञा थपिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिनुभयो ।
महोत्तरीमा अहिलेसम्म एक हजार दुई सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने आठ जनाको ज्यान गएको छ ।