झापा । हिजो (सोमबार) साँझदेखि परेको अविरल वर्षाका कारण झापाको बुद्धशान्ति गाउँपालिकाको ५ र ६ नम्बर वडाका विभिन्न स्थानमा क्षति पुगेको छ। विभिन्न ठाउँमा बिद्युतका पोल लड्दा विद्युत अवरुद्ध भएको छ भने कतिपय स्थानमा सडक समेत अवरूद्ध भएको छ।
गढीगाउँदेखि चुल्ठे जोड्ने कुरुङ खोलाको पक्की पुल पुर्णरुपमा क्षतिग्रस्त हुँदा सो क्षेत्रमा सवारी आवागमन ठप्प छ। बुद्धशान्ति ६ का अधिकांश कालोपत्रे सडक उप्काएर सवारी चल्न सक्ने अवस्था छैन ।
यस्तै, गढीगाउँदेखि खारखोला जोड्ने पुलको पश्चिम क्षेत्रबाट खोला पस्दा सो क्षेत्रमा पनि सडक अवरुद्ध छ। सडक किनारका कुलो मर्मत तथा सरसफाइ नगरिँदा प्रायः सडकहरु जलमग्न भएका छन्।
बुद्धशान्ति ५ को भ्वाईस अफ युथ चोक पश्चिमको सुन्दरी खोल्सोको पक्की पुलमा समेत क्षति पुगेको छ। त्यस्तै कुरुङ खोला किनारमा रहेका धानवाली लगाइएका खेतहरुमा समेत कटान गरेको छ।
त्यसैगरी बुद्धशान्ति ६ मा रहेको शान्ति आदर्श माविको खेल मैदान पनि बाढीले पुर्णरूपममा बिग्रिएको छ।
बर्षाका कारण आएको बाढीका कारण विभिन्न स्थानहरूमा क्षति पुगेको भए पनि पुर्णरूपमा क्षतिको विवरण आउन बाँकी छ ।