शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिकामा रहेको कालिका बहुउद्देश्यीय सहकारी संस्थामा आगजनी प्रयास गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

सहकारीमा आगजनी प्रयास गरेको अभियोगमा स्थानीय अर्जुनधारा-९ का देवी पौडेललाई प्रहरी पक्राउ गरेको हो । मङ्गलवार उक्त सहकारी संस्थाले युरिया मल बाँड्ने कार्यक्रम थियो ।

मल नपाएको झोँक देखाउँदै उत्तेजित भएका पौडेलले संस्थाको ब्यवस्थापकको कोठामा पेट्रोल छर्किएर आगजनीको प्रयास गरेका थिए । पौडेलले मल लिनका लागि अघिल्लो दिन नै नाम टिपाएको तर सहकारीले मल लिन आउँदा आफ्नो नाम नभएको सुनाएपछि आक्रोसमा आएको बताएका छन् ।

पेट्रोल छर्केर आगो लगाउने प्रयास गर्दा पौडेललाई शनिश्चरे प्रहरी चौकीबाट खटिएका प्रहरीले पक्राउ गरेका थिए । पौडेलले पेट्रोलमा लाइटर सल्काउने प्रयास गरेका थिए तर लाइटर बलेको थिएन ।

यसैबीच, संस्थामा ५० केजी तौलको ४० बोरा मल आएकोले मल माग्न आएका सबै किसानलाई नपुग्ने भएपछि संस्थाले एक साताअघि नाम टिपाएका किसानलाई मात्र १० केजीका दरले मल बाँडेको सहकारीका अध्यक्ष कर्णबहादुर तामाङले बताए ।