अर्जुनधारा । गएको मंगलबार राति मेघगर्जनसहित परेको पानीका कारण आएको बाढीले झापाको अर्जुनधारा नगरपालिका क्षेत्रभित्र पुर्याएको क्षतिबारे अवलोकन गरिएको छ ।
अर्जुनधारा नगर क्षेत्र हुँदै बग्ने विरिङ, टाङटिङ खोलामा आएको बाढीले नगरको बाटो, पुल, बिजुलीका पोल, नहर, स्थानीयको घरमा समेत क्षति पुर्याएको छ ।
नगरको वडा २ स्थित गाँजाबारीमा ७ वटा बिजुलीका पोल ढलेको, स्थानीय देवेन्द्र रोक्काको घर रुख ढल्दा किचेको, वडा नं १ मा नहर भत्काएको साथै वडा नं १ र २ का बाटो लगायतमा क्षति पुर्याएको छ ।
आकाशमा कालो बादल मडारिन थालेपछि त्यस क्षेत्रकोका स्थानीय बिरीङ तथा टाङ्टिङ नदीमा आउने बाढीको त्रासले रातभर जाग्राम बस्ने गर्छन् । बाँध भत्काई पानी मानव बस्तीसँगै खेतीयोग्य जमिनमा पस्ने चिन्ताले उनीहरुलाई सताउने गरेको स्थानीय मदन बरालले बताए ।
बुधबार नगर प्रमुख हरिकुमार राना, उपप्रमुख कमला आचार्य खतिवडा, विपत व्यवस्थापन समितिकी संयोजक लक्ष्मी तामाङसहितको टोलीले बाढीले पुर्याएको क्षतिको अवलोकन गरेका छन् ।