झापा । झापामा आज शुक्रबार थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा थप २६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको हो ।
स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाईंका अनुसार संक्रमितहरु मेचीनगर नगरपालिका वडा नं ७ र १० का ४ पुरूष, झापा गाउँपालिकाका वडा नंं १ का ३ जना पुरुष, गौरीगन्ज गाउँपालिका वडा नं ५ का १ जना पुरुष, दमक नगरपालिका वडा नं ६, ७ र ८ का ३ महिला र २ जना पुरुष, कन्काई नगरपालिका वडा नं ३ र ५ का ८ जना पुरुष र २ जना महिला, भद्रपुर नगरपालिकाका २ जना प्रहरी र कचनकवल गाउँपालिका वडा नं ७ का १ पुरुष रहेका छन् ।
जसमा ७ महिला र १९ जना पुरुषहरु रहेका छन् । झापा गाउँपालिका र कचनकवलका संक्रमितहरु भारतबाट आएका हुन् भने अन्य सबै जना स्थानीय बासिन्दा रहेको चौलागाईंले बताए ।
यो संगै झापामा कुल संक्रमितको संख्या ६४१ पुगेको छ भने ४८१ जना डिस्चार्ज भएका छन् ।