काठमाडौँ । देशभर १ हजार ४१ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा नेपालमा १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै देशभर ४५ हजार २७७ जना संक्रमित पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ७ लाख ५७ हजार ९६३ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घण्टामा जम्मा १२ हजार ४७३ पीसीआर परीक्षण भएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ६ हजार ७०१ जना रहेका छन् । त्यसैगरी सकृय संक्रमितको संख्या १७ हजार ८७० जना रहेको छ ।

२४ घन्टामा १ हजार ५६६ जना डिस्चार्ज भएका छन् । हालसम्म निको हुनेको संख्या २७ हजार १२७ पुगेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाए । निको प्रतिशत ६० रहेको छ ।

थप ९ संक्रमितको मृत्यु, मृतक संख्या २८० पुग्यो
नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमतिको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा गौतमले शनिबारको नियमित प्रेस ब्रिफ्रिङमा दिएको जानकारी अनुसार ३ जना महिला र ६ जना पुरुष गरी ९ जनाको मृत्यु भएको हो ।

मोरङकी ४३ वर्षीया महिला, मकवानपुरकी ५२ वर्षकी एक महिला र नवलपरासीकी ३७ वर्षकी महिलाको पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणले मृत्यु भएको छ ।

यस्तै पर्साका ७५ वर्षका एक पुरुष, महोत्तरीका ७८ वर्षका एक पुरुष, काठमाडौंका ४१, ५९ र ६५ वर्षका तीन पुरुष र रुपन्देहीका ४० वर्षका एक पुरुषको मृत्यु भएको हो ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८० पुगेको छ । कुल संक्रमितका आधारमा शून्य दशमलब ६२ प्रतिशतको मृत्यु भएको डा गौतमले जानकारी दिए ।

यसअघि शुक्रबार नेपालमा एकैदिन सर्वाधिक १४ जनाको कोरोनाले मृत्यु भएको पुष्टि भएको थियो ।