बिर्तामोड । बिर्तामोडस्थित बीएण्डसी हस्पिटलका १२ जना चिकित्सकसँगै प्रभु बैंक बिर्तामोडका मेनेजरको रिपोर्ट पनि पोजेटिभ आएको छ ।
आइतबार झापाका ३१ जनामा कोराना भाइरस संक्रमण पुष्टि भएको थियो । जसमा बिएन्डसी हस्पिटलका १२ जना स्वास्थ्यकर्मी रहेका थिए । बीएण्डसी हस्पिटलमा संक्रमित हुनेहरुमा एक चिकित्सक र ११ स्वास्थ्यकर्मी रहेका छन् । संक्रमितहरु ११ महिला र एक पुरुष रहेको हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताए । उनले आइसोलेसन र क्वारेन्टाइनमा बसेकाहरुमा संक्रमण देखिएको जनाए ।
यसैबीच बिर्तामोडमा रहेको प्रभु बैंकका कर्मचारीसहित तीन जना र एक जना स्थानीयमा कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाका फोकल पर्सन ओमबहादुर खड्काले पुष्टि गरेका छन् ।
एक विज्ञप्ति प्रकाशित गर्दै उनले बिएन्डसी हस्पिटलका १२ जना, प्रभु बैंकका ३ जना र एक जना स्थानीय भएको उल्लेख गरेका छन् ।

बिर्तामोड १० विराटपोखर घर भइ प्रभु बैंक बिर्तामोडको व्यवस्थापक (मेनेजर) रहेका ब्यक्तिको परिवारका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बैंकका व्यवस्थापक, उनकी श्रीमती र ९ वर्षकी छोरीलाई संक्रमण पुष्टि भएको बिर्तामोड १० का वडाध्यक्ष दुर्योधन गुरुङले पुष्टि गरेका छन् ।
आज नै मेचीनगर नगरपालिकामा दुई सुरक्षाकर्मीसहित ५ जना, कमल गाउँपालिकामा ३ महिला र ८ पुरुष गरी ११ जना स्थानीयमा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।
स्वास्थ्य कार्यालय झापाका फाेकल पर्सन चाैलागाईले बिर्तामाेडमा १५ जनामा संक्रमण भएकाे उल्लेख गरे पनि बिर्तामाेड नगरपालिकका फाेकल पर्सन खड्काले १६ जनामा संक्रमण भएकाे उल्लेख गरेका छन् ।