झापा । कोरोना भाइरसको संक्रमण समुदाय तहमा देखिएपछि संक्रमितको संख्या ह्वात्तै बढेको छ । प्रदेश १ मा मात्रै संक्रमितको संख्या चार हजार नाघेको हो ।
प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार चार हजार २२ जना संक्रमित छन् । ९८ हजार चार सय ८८ जनाको पीसीआर परीक्षण गर्दा उनीहरुमा संक्रमण देखिएको हो ।
यसैबीच, कोरोना भाइरसको संक्रमणका कारण प्रदेश १ मा आज बिहानसम्म ४३ जनाको मृत्यु भएको छ । तीमध्ये ११ जना महिला छन् भने बाँकी सबै पुरुषहरु हुन् ।
आज विहान मात्रै कोशी कोरोना अस्पतालमा विराटनगरका एक जना पुरुषको मृत्यु भएको छ । आइतबार विराटनगर र झापाका गरी दुई जनाको मृत्यु भएको थियो ।
प्रदेश १ मा सबैभन्दा बढी ज्यान गुमाउनेमा मोरङका २४ जना छन् । संक्रमणले सुनसरीमा पाँच जनाको मृत्यु भएको छ । झापामा दुई जनाले ज्यान गुमाएका छन् ।
प्रदेश १ मा हालसम्म डिस्चार्ज हुनेको संख्या एक हजार आठ सय ४३ पुगेको छ ।