पाँचथर । मेची राजमार्ग अन्तर्गत पाँचथरको सदरमुकाम फिदिम बजार क्षेत्रमा सडक बिस्तार हुने भएको छ ।

राजमार्गलाई बिस्तार गर्न बजार क्षेत्रमा सडक छेउछाउ रहेको संरचना हटाउन १५ दिने सूचना प्रकाशित भएको हो । सडक डिभिजन कार्यालय इलामले पाँचथर जिल्लाको सदरमुकाम फिदिम बजार क्षेत्रमा सडक अतिक्रमण गरी निर्माण गरिएका संरचना १५ दिनभित्र हटाउन सार्वजनिक सूचना जारी गरेको छ ।

मेची राजमार्गअन्तर्गत फिदिम बजारमा यसअघि साँघुरो रहेको सडकलाई बिस्तार गरिने भएको हो । सडक दुबैतर्फ १५ मिटरले बिस्तार गर्ने सम्बन्धी निर्णय २०३४ सालको राजपत्रमा सूचना प्रकाशित भइसकेको छ । सोही आधारमा नगर क्षेत्रभित्र काम अगाडि बढाउन लागिएको हो ।

चालु आर्थिक बर्ष २०७७/०७८ मा काम सक्ने गरी सडक बिस्तार तथा स्तर उन्नतीको कार्य गर्नुपर्ने भएकाले सडक क्षेत्र मिचेर बनाइएका संरचना हटाउन सूचित गरिएको डिभिजन कार्यालय इलामले जनाएको छ ।

सूचना जारी भएको १५ दिनसम्म पनि संरचना नहटे सार्वजनिक सडक ऐन २०३१ अनुसार हुने उल्लेख छ । ऐनमा सरकारले आफैँ हटाउने प्रावधान छ ।

लामो सयमदेखि फिदिम बजारमा पर्ने सडक चौडा गर्ने बिषयमा हानाथाप भइरहेको छ । डिभिजन सडक कार्यालयको पछिल्लो सूचनाले नयाँ तरंग सुरु गरेको छ ।