पर्वत पोर्तेल,
चारआली, (झापा) पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको चारआली–बुझाबारी सडकखण्डको कालीझोडा जंगल नजिकैको चौतारोमा लडिरहेको शव मंगलबार बिहान बटुवाले देखे । प्रहरीलाई खबर गरे । प्रहरीले स्थानीयलाई सोधपुछ गर्दा अन्दाजी ४५ वर्षका राजकुमार जोगीको शव भन्ने थाहा भयो । लकडाउनयता उनी चौतारोमै रात बिताउँथे ।

स्थानीयबासीका अनुसार उनी केही दिनदेखि भोकै थिए । खान नपाएरै उनले ज्यान गुमाउनु परेको स्थानीय प्रकाश राजवंशीले बताए । उनले भने, ‘केही दिनदेखि उनी भोको थिए रे । भोको पेट, चिसो भुइँको सुताईकै कारण उनको ज्यान गएको हो ।’

भोजपुर मूल घर भएका जोगी विगत दुई दशकदेखि चारआलीमै बस्थे । उनलाई नजिकबाट चिन्ने स्थानीयका अनुसार पहिला बुबा–आमासँगै डेरामा बस्थे । फेरी लगाउने पेसाबाट गुजारा चलाउँथे ।

बुबा–आमा बितेपछि उनी एक्लिए । केही समय पुस्तौनी पेसा गरे । तर, लामो समय गर्न सकेनन् । पछि डेरा पनि छाडे । खुला आकासमै रात गुजार्थे । जोगीले कहिले जंगलमा त कहिले सडकका पेटीमा रात गुजारेको स्थानीयको भनाइ छ ।

जोगीले लकडाउन सुुरु भएपछि सडकमै माग्ने उनीजस्तै महिला झापा धुलाबारीकी ५२ वर्षीया मीना खड्कासँग बिहे पनि गरेका थिए । मीना चारआलीको पाउ पाथिभरा मन्दिर परिसरमा मागेर गुजारा गर्थिन् । उनी पनि मन्दिर आसपासै भेटिन्थे । मन्दिर आसपासमै भेटिएका यी असहायको मन मिलेपछि बिहे गरे ।

बिहे त गरे । तर, कहाँ बस्ने ? समस्या थियो । डेरा खोजे पाएनन् । अन्तत: पाउ पाथीभरा मन्दिर अघिल्तिरको सडक कल्भर्टलाई डेरा बनाए । ‘कसैले डेरा नदिएपछि कहाँ जाने ? मर्नु भन्दा बहुलाउन निको,’ केही समयअघिको कुराकानीमा उनले भनेका थिए ।

फोहोरको डंगुरले भरिएको कल्भर्टमा रात बिताउँथे । कसैले दिए खान्थे नत्र भोकै सुत्थे । केही समय अघि कल्भर्टबाट समेत उनीहरु लखेटिए । केही समययता कालीझोडा जंगल नजिकको चौतारो उनीहरुको घर थियो । त्यहीँ जोगीले अन्तिम श्वास फेरे । ‘रातिसँगै सुतेका थियौं,’ मीनाले भनिन्, ‘बिहान त उनी बितिसकेछन् ।’

जोगीको शव पोस्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको प्रहरीले जनाएको छ । कान्तिपुरबाट