तेज आचार्य,
रोङ, (इलाम) । इलामको दक्षिणी चुरे क्षेत्रका किसानहरुले गर्दै आइरहेको केरा खेतीमा यतिखेर निराशा छाएको छ ।

रोङ गाउँपालिका, माई तथा सूर्योदय नगरपालिका लगायत स्थानका किसानहरुमा प्राविधिक ज्ञान र दिगो बजारको अभावले सिर्जना गरेको समस्याका कारण केरा खेतीबाट निराशा बढेको हो ।

किसानको घर–व्यवहार चलाउने आधार बन्दै आएको केरा खेतीमा उत्पादनको समयमा विभिन्न रोगको प्रकोप बढ्ने र स्थायी बजारको अभावमा उचित मूल्य प्राप्त नहुनुले पनि किसानहरु समस्यामा परेका छन् ।

झापाको शनिश्चरे, बिर्तामोड हुँदै काठमाडौं, वीरगंज, जनकपुर, पोखरासहितका ठूला सहरमा पुग्ने केराको मूल्य किसानको हातमा भने प्रतिघरी एक सय पचासदेखि दुई सय पचाससम्म मात्र पाउने गरेको रोङ २ बरफल्याङका कृषक टीकाप्रसाद भट्टराई बताउँछन् ।

उनले १५ रोपनी क्षेत्रमा केरा खेती गरेका छन् । बार्षिक ६० हजारको केरामात्रै बिक्री गर्ने उनले त्यही केरा बगानमा सुपारी र पशुका लागि घाँससमेत उत्पादन गर्दै आएका छन् । १७ वर्षदेखि व्यावसायिक केरा खेती गर्दै आएको उनले सुनाए । उनले भने, ‘जुन आशाले खेती शुरु गरिएको थियो, अहिले आएर रोग, कीरा र बजारले निराश बनायो ।’

बरफल्याङमा मात्रै तीन सय परिवारभन्दा बढीले केरा खेती गर्दै आएका छन् । पहिले रातो देखिने बरफल्याङमा अहिले हरियाली छाएको छ । माई नगरपालिका र चुलाचुली गाउँपालिकामा चुरे क्षेत्रका किसानले पनि केराको खेती शुरु गरेका छन् । केरा खेतीमा मूल समस्या भनेकै रोग, कीरा र बजारको नै हो ।

रोङ-२, इलामका कृषि तथा प्राविधिक शाखा प्रमुख रामकुमार तामाङका अनुसार केरा खेतीमा गवारो कीराको प्रकोप बढी देखिने गरेको छ । त्यसबाहेक केरामा लाग्ने मुख्य रोगहरूमा पानामा ओइलाउने, बन्ची टप, पातको थोप्ले, गुवो मर्ने, कोत्रे र गानो कुहिने रोग प्रमुख रुपमा देखिने गरेको उनले बताए । बगैँचा सरसफाइ नगर्दा र केराको झाँङबाट विरुवा सार्दा रोग र कीरा फैलने क्रम बढेको उनको भनाइ छ ।

रोङ-२ का केरा व्यवसायी दीपक ढुंगानाका अनुसार यस क्षेत्रमा चिनी चम्पा, भण्डारी, धुस्रे, सिंगापुरी जातका केरा पाइन्छन् । उनका अनुसार चिनि चम्पा (लालकोला)को माग बजारमा अरुभन्दा राम्रो छ । झापाका बजारमा पु¥याएर बिक्री गर्ने उनले केरा उत्पादकले अहिले पनि राम्रो बजार नपाएको सुनाए ।

उनले भने, ‘सुरक्षित बजारको अभावका कारण किसानहरु मारमा परेका छन् ।’ कतिपय किसानले भने विचौलीया व्यपारीको कारण किसानहरुले उचित मूल्य नपाएको उनले सुनाए ।

रोङ-२, इलामका वडाध्यक्ष टेकबहादुर तामाङका अनुसार केराको बजार व्यवस्थापनका लागि सो क्षेत्रमा गत वर्षदेखि केराको परिकार बनाउने तालिम शुरु गरिएको छ । चालु आर्थिक वर्ष पनि तालिमलाई निरन्तरता दिने योजना रहेको उनले बताए ।

उनले भने, ‘केरा यहाँको मूख्य आयस्रोत मध्ये भएकाले यसको संरक्षण र बजार व्यवस्थापनका लागि योजनाबद्ध काम शुरु गरेका छौ ।’

विशेषतः चुरे क्षेत्र केरा खेतीका लागि अति उर्वर भूमि हो । स्थानीय जातको लाल कोला राम्रोसँग फस्टाउने भएकाले यस क्षेत्रमा बढी मात्रामा सो जातको केरा पाइन्छ । बजारको पर्याप्त अभावका कारण अझै पनि उत्पादित केरा ग्राहकसम्म नपुगेर वस्तुलाई खुवाउने र चराचुरुङ्गीले नै खाएर सक्ने गरेका छन् ।