अर्जुनधारा (झापा) । इन्डो-नेपाल यू-१३ टी२० च्याम्पियन्स ट्रफीअन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा इनरुवाको फुलबारी स्पोर्ट्स एकाडेमीले भारत पटनाको एचपी (हाई पर्फमेन्स) क्रिकेट एकाडेमीमाथि ४ विकेटको रोमाञ्चक जित हात पारेको छ।
अर्जुनधारा ९ स्थित नमुना खेल मैदानमा जारी प्रतियोगितामा टस जितेर पहिले ब्याटिङ गरेको पटनाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३९ रन बनाएको थियो। टोलीका लागि अंशु कुमारले १२ बलमा २७ रनको आक्रामक इनिङ्स खेले भने जित ज्योतीले ४० बलमा २० रन जोडे। अंकित कुमारले १३ रन बनाउँदा अन्य खेलाडीले उल्लेख्य योगदान दिन सकेनन्।
इनरुवाका बलर अब्दुल राफेले ४ ओभरमा २ विकेट लिए। दिवस बिष्ट र अस्दुल्ला अन्सारीले समान १-१ विकेट लिएर विपक्षीलाई मध्यम स्कोरमा सीमित राखे।
१४० रनको लक्ष्य पछ्याएको इनरुवाले १६.१ ओभरमै ६ विकेट गुमाउँदै सहज जित हात पार्यो। टोलीका लागि रेहान अन्सारीले २६ रनको महत्वपूर्ण इनिङ्स खेले भने दिवस बिष्ट २१ रनमा अविजित रहे। अब्दुल राफेले १९ रन थप्दै जितमा बलियो साथ दिए।
पटनाका बलरहरूमा आयुष कुमार, शशांक शेखर र अंशु कुमारले समान १-१ विकेट लिए पनि टोलीलाई जित दिलाउन सकेनन्। ब्याटिङ र बलिङ दुवैतर्फ उत्कृष्ट प्रदर्शन गरेका दिवस बिष्ट ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनले २१ रन बनाउनुका साथै १ विकेट लिएका थिए।
यससँगै समूह ‘बी’ मा प्रतिस्पर्धा झन् रोमाञ्चक बनेको छ। यसअघि पहिलो खेलमा इनरुवा क्रिकेट क्लबले लायन क्रिकेट एकेडेमी विराटनगरलाई १८५ रनले पराजित गर्दै विजयी सुरुवात गरेको थियो। यसअघि समूह ‘ए’ बाट बोस्टन क्रिकेट एकेडेमी र सरस्वती क्रिकेट एकेडेमी प्लेअफमा स्थान सुरक्षित गरिसकेका छन्।
अर्जुनधारा नगर खेलकुद विकास समितिको आयोजना तथा बोस्टन क्रिकेट एकेडेमीको सहआयोजनामा जारी प्रतियोगितामा नेपाल र भारतका गरी ८ टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले नगद १ लाखसहित ट्रफी प्राप्त गर्नेछन् भने उपविजेताले नगद ५० हजारसहित मेडल पाउने आयोजकले जनाएको छ।