मेचीनगर । बाहुनडाँगी जेसीजको आयोजना र नेपाल रेडक्रस सोसाईटी भद्रपुर शाखाको प्राविधिक सहयोगमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

उक्त रक्तदान कार्यक्रममा ६ महिला र ३४ पुरुष गरी कुल ४० जनाले रक्तदान गरेका छन्। जेसीजको १०औँ स्थापना दिवसका अवसरमा उक्त रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

जेसीजका सन् २०२० का अध्यक्ष सागर कार्कीले रक्तदान लगायतका अन्य सामाजिक कार्यहरु गर्दै आइरहेको र बढ्दो कोरोना सङ्क्रमणका कारण देशभर रगत अभाव भइरहेको बेला आज रक्तदान कार्यक्रम आयोजना गरिएको बताए।

जेसीजका पूर्व अध्यक्ष बद्री निरौलाले रक्तदान गरी कार्यक्रमको विधिवत उद्घाटन गरेका थिए । यसअघिका वर्षमा विविध कार्यक्रमसहित संस्थाले आफ्नो स्थापना दिवस मनाउँदै आएको भए पनि वर्तमान परिस्थितिलाई मध्यनजर गरी रक्तदान कार्यक्रम गरिएको अध्यक्ष कार्कीको बताए ।