झापा । अर्जुनधारा-३ स्थित बुढी सुखानीमा बसोबास गर्दै आएका दुई विपन्न असहायलाई आर्थिक सहयोग गरिएको छ । बुढी सुखानी प्रवासी सुखानी सेवा समाज कतारद्वारा पठाइएको सहयोग रकम बिहीबार एक कार्यक्रमका बीच अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले प्रदान गरेका हुन् ।

बुढी सुखानी घर भई हाल वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका नेपाली संगठित संस्थाले अत्यन्त दयनीय अवस्थाका तिलबहादुर मगर र हरिमाया आङ्बोलाई १० हजार ७ सय ५० रुपैंया सहयोग गरेको हो । सहयोग हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगरप्रमुख रानाले वैदेशिक रोजगारीमा रहेका नेपाली दाजुभाइले आफ्नो छाक कटाएर गरिब असहायलाई सहयोग गरेकोमा आभार प्रकट गरे ।

त्यस्तै सोही कार्यक्रममा यलम्वर टाइम्सका सम्पादक दिपीन राईले पनि प्यारालाइसिसबाट थलिएका ती दुई जना असहायलाई जनही एक–एक हजार रुपैयाँ सहयोग प्रदान गरेका थिए ।

कमल रायले सञ्चालन गरेको उक्त कार्यक्रमलाई अतिथि दिपीन राई, बोर्ड सदस्य खिनमान दास, वडा नं ३ का अध्यक्ष जीवन भण्डारी, वडा सदस्य सीताराम भट्टराई, युवा परिषदका संयोजक होम दुलाल, माइ नगरपालिका वडा नं ४ का सदस्य महेन्द्र बुढाथोकी, भिमप्रसाद बास्कोटा लगायतले प्रवासी समाजको प्रशंसा गरेका थिए ।