झापा । प्रेस काउन्सिल नेपालले विभिन्न पत्रकारिता विधाको पुरस्कार घोषणा गरेको छ । जसमा इलामका पत्रकार सटेन्द्र जबेगुलाई युवा पत्रकारिता पुरस्कार र झापाका अग्रज पत्रकार गोविन्दचन्द क्षेत्रीलाई क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

प्रेस काउन्सिल नेपालले इलामका पत्रकार जवेगूलाई ‘प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार’ प्रदान गर्ने भएकाे छ । उनी नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य हुन् ।

इलाम पोष्ट दैनिक, इलाम आवाज साप्ताहिक र सरलपाटी अनलाईनका सम्पादक रहेका जवेगूलाई प्रेस काउन्सिलको ५१औँ बार्षिक उत्सवको अवसरमा सो पुरस्कार प्रदान गर्ने निर्णय भएको काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठद्वारा जारी गरिएको सन्देशमा उल्लेख छ । पत्रकार जवेगूलाई १५ हजार रुपैयाँ राशिको पुरस्कार प्रदान गरिने छ ।

बार्षिक उत्सवको अवसरमा विभिन्न सात विधामा पुरस्कार प्रदान गरिएको छ । एक लाख ५१ हजार राशिको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार शम्भु श्रेष्ठलाई प्रदान गरेको छ ।

त्यस्तै एक लाख दश हजार रुपैयाँ राशिको प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार हुम्लाका अर्जुन बोहोरालाई प्रदान गरिएको छ । ५० हजार राशिको प्रेस काउन्सिल आचारसंहिता पुरस्कार भने सेतोपाटी अनलाइनलाई प्रदान गरिएको छ ।

प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार झापाका अग्रज पत्रकार गोविन्द क्षेत्रीलाई प्रदान गरिने भएको छ । सोही पुरस्कारबाट राजन कार्की, धर्मेन्द्र कर्ण, ऋषि धमला, उमेश श्रेष्ठलाई प्रदान गरिएको छ । पुरस्कारको राशि २० हजार रुपैयाँ रहेको छ ।

युवा पत्रकारिता पुरस्कार जवेगूसहित सुुरेशचन्द्र अधिकारी, माधव पौडेल, गणेश चौधरी, गिरिजा अधिकारी, राजु विक, कमला श्रेष्ठ, राजन सिह, देवकुमारी गूरुङ, रेणु पराजुली, दिपेन्द्र वली, शेरबहादुर थापा, राधिका कँडेल र शान्ता कमलीलाई प्रदान गरिएको छ ।

प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार नव प्रज्ञापन साहित्यिक त्रैमासिक पत्रिका र प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार गणेश राईलाई प्रदान गरिएको छ । सबै पुरस्कार भोलि काठमाडौँमा वितरण हुनेछ ।