झापा । करिब एक सातादेखि लगातारको बर्षाले झापाली फुटबल रेफ्री सन्तोष चौधरीको घरखेत बगाएको छ।

बाह्रदशी ७ स्थित तुलसीबारी घर भएका चौधरीको घरखेत बगाएपछि अहिले घरबारबिहीन बनेका छन् । बिहीबार बिहानपख बिरिङ खोलामा आएको बाढी गाउँ पसेपछि चौधरीको घरसँगै खेतबारी पनि बगाएको हो । बुधबारदेखि नै बाढी गाउँ पसेर कटान सुरु गरेको थियो ।

बाढीले घरखेतसँगै अन्दाजी एक बिगाहा धानखेत, घर बनाएको ठाउँको २ कठ्ठा जमिन पनि कटान गरेको चौधरीकी श्रीमती सीताले बताइन् । उनीहरु अहिले छिमेकी षडानन्द गौतमको घरमा आश्रय लिएर बसेका छन् ।

बाढी गाउँ पसेपछि सो क्षेत्रका अन्य २ परिवारको पनि बिचल्ली भएको छ । छिमेकी दुई परिवारको पनि घरखेत बगाएको सीताले बताइन् । बाढीले कटान सुरु गरेपछि रेफ्री संघ झापाका पदाधिकारी पुगेर घरभित्रका केही सामान जोगाउन सफल भएका थिए ।

यसैबीच, आज बसेको झापा जिल्ला फुटबल रेफ्री संघको आकस्मिक बैठकले आफ्ना सदस्यको पुनर्बासको निम्ति तत्काल नगद ५० हजार सहयोग गर्ने निर्णय गरेको झापा जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य प्रदिप बस्नेतले जानकारी दिए ।

झापा जिल्ला फुटबल रेफ्री संघले पीडित रेफ्रीलाई सहयोग गर्न सबैमा अनुरोध गरेको छ।