बिर्तामोड । समाजसेवी इन्द्रप्रसाद अधिकारीलाई आज सम्मान गरिएको छ । बाह्रदशी गाउँपालिकाले ‘इन्द्र सचिव’का नामले परिचित अधिकारीलाई नगद ५१ हजार ५ रुपैयाँसहित सम्मान गरेको हो ।
सम्मानित अधिकारी तत्कालीन राजगढ गाविसका सचिव थिए । सचिव रहँदा राजगढको विकासका लागि पु¥याएको योगदानको स्मरण गर्दै सम्मान गरिएको बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीले बताउनुभयो ।
केही समयदेखि बिरामी भएर स्वास्थ्य लाभ गरिरहेका अधिकारीलाई गाउँपालिका परिवारले अधिकारीकै निवासमा पुगेर सम्मान गरेको हो । उनी हाल बिर्तामोड नगरपालिका १ मा बसोबास गर्दै आएका छन् ।
सम्मानित अधिकारीलाई गाउँपालिकाका अध्यक्ष राजवंशी सहित उपाध्यक्ष रत्नाकुमारी राजवंशी, प्रमुख प्रशासकीय अधिकृत चित्राप्रसाद गुरागाई, बाह्रदशी १ का वडाध्यक्ष शम्भूसिंह राजवंशी, २ का अध्यक्ष यादव मिश्र, ३ का विरेन्द्रप्रसाद राजवंशी, ४ का अध्यक्ष समिम मिया, ५ का अध्यक्ष भुपेन्द्र कटुवाल, ६ का वडाध्यक्ष रत्नप्रकास योङ्हाङ, गाउँपालिकाका अधिकृत चेतनाथ न्यौपाने, योजना अधिकृत तेजप्रसाद रेग्मी लगायतले समाजसेवी अधिकारीको स्वास्थ्य लाभको कामना गर्दै सम्मान पत्र प्रदान गरेका थिए ।
समाजसेवी अधिकारीले गरेका सामाजिक कामको स्मरण गर्दै बाह्रदशी गाउँपालिका अध्यक्ष राजवंशीले इन्द्र सविचका नामले परिचित अधिकारी सिङ्गो आदिवासीको संरक्षक समेत भएको बताए ।
आफ्ना बुवा मोटापानी राजवंशी २०१८ सालमा राजगढको प्रधानपञ्च भएको समयमा अधिकारीकै पहलमा पशुपति माविको जग्गा व्यवस्थापन, प्रहरी चौकी राजगढ र सामुदायिक अध्ययन केन्द्रका लागि १५ कठ्ठा जमिन आफ्ना बुवाले दिएको स्मरण गरे ।
‘इन्द्र सचिवले त्यसबेला मेरा बुवालाई जग्गा दिन प्रेरित नगरेको भए अहिलेको राजगढ त्यस्तो हुने थिएन’, अध्यक्ष राजव.शीले भने, ‘मेरो बुवा मोटापानीलाई त्यो समयमा हात उठाएर प्रधानपञ्च बनाउन समेत सचिवको भूमिका अहम छ ।’
इन्द्र सचिवका नामले परिचित अधिकारीकै पहलमा पशुपति मावि राजगढसहित तीन वटा विद्यालयलाई अधिकारीले त्यो समयमा एक सय ५ विगाह जग्गा व्यवस्थापन गरेको अध्यक्ष राजवंशीले बताए ।
अधिकारीकै पहलमा पशुपति माविको नाममा मात्रै अहिले ९४ विगाह जमिन रहेको बताइएको छ । सम्मान कार्यक्रममा शिक्षासेवी गंगाप्रसाद अधिकारी, समाजसेवी रामप्रसाद दुलाल, पशुपति माविका प्रधानाध्यापक थीरकुमार दाहाल लगायतको उपस्थिति थियो ।