अर्जुनधारा । झापाको अर्जुनधारा-७ स्थित रमाइलो बस्तीमा पौड्याल चोकबाट दाहाल चोक जाने बाटो कालोपत्रे योजनाको काम सकिएको छ । कालोपत्र सडक निर्माण उपभोक्ता समितिले योजनाको काम सकिएपछि शनिबार सार्वजनिक सुनुवाई पनि सम्पन्न गरेको छ ।

बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष तिलबहादुर राईको अध्यक्षता र वडाध्यक्ष नवराम ढुंगाना ‘नविन’को प्रमुख आतिथ्यमा आयोजित भेलामा सचिव नकुल बस्नेतले योजनाको आय-व्यय विवरण सार्वजनिक गरेका थिए ।

गत आर्थिक वर्ष ०७६/०७७को वडाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार उक्त योजनाको लागि सात लाख तीन हजार दुई सय ४५ रुपैयाँ तीन पैसा (कन्टीजेन्सी सहित) विनियोजन गरिएको थियो ।

गत असार २४ गते सम्झौता भएको उक्त योजना अन्र्तगत जम्मा सात लाख ११ हजार एक सय रुपैयाँको लगानीमा एक सय १८ मिटर बाटो कालोपत्रे भएको निर्माण उपभोक्ता समितिका अध्यक्ष राईले बताए ।

बाटो कालोपत्रेको जिम्मा बिर्तामोड-५ स्थित मातृभूमि निर्माण सेवाले पाएको थियो । सोही निर्माण कम्पनीले नगरको ठेक्काबाट ३०७ मिटर लम्बाइको कालोपत्रे सडक पनि निर्माण सम्पन्न गरेको छ ।

उपभोक्ता समितिको भेलामा वडा पूर्वाधार संयोजक देवकुमार राई, वडा सदस्य ऐतराज नेम्वाङ ‘सन्तोष’, निर्माण कम्पनीका ठेकेदार सेवन शिवाकोटीलगायतको उपस्थिति रहेको थियो ।