झापा । झापा जिल्लाको कमल गाउँपालिकामा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

कमल गाँउपालिका वडा नम्बर २ त्रिवेणी चोकमा बस्ने ३४ वर्षीय रामजी थापाले आफ्नै श्रीमतीको खुकुरी प्रहार गरी हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राकेश थापाले उक्त घटनाको पुष्टि गरेका छन् ।

सामान्य घरायसी विवादमा रिसले आक्रोसित भएका श्रीमानले घरैमा राखेको खुकुरी निकालेर घाँटीमा प्रहार गर्दा २४ वर्षीय रिता थापाको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक थापाको भनाइ छ ।

शनिबार पौने पाँच बजे भएको उक्त घटनामा संलग्न थापालाई प्रहरी चौकी तोपगाछीले घटनास्थलबाटै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यलय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाका अनुसार घटनाको अनुसन्धान भइरहेकोले थप विवरण आउन बाँकी रहेको छ ।