बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाको तीन वटा वडा तीन दिनका लागि बन्द गरिने भएको छ । दैनिकजसो कोरोना भाइरसको संक्रमण पुष्टि हुन थालेपछि वडा कार्यालय बन्द गरिने भएको हो ।

बिर्तामोडको वडा नम्बर ७, ८ र ९ आइतबारदेखि तीन दिनका लागि बन्द गरिएको छ । वडा नम्बर ८ र ९ को समुदायस्तरमा कोरोना भाइरसको संक्रमण फैलिएको भन्दै तीन वटै कार्यालयबाट हुने कामकाज तीन दिनलाई बन्द गरिएको वडा नम्बर ७ की कार्यवाहक अध्यक्ष चन्द्रकला पकुवालले जानकारी दिइन् ।

वडा नम्बर ८ र ९ का केही ब्यक्तिमा कोरोना संक्रमण देखिएको र उनका आफन्तको सम्पर्क जनप्रतिनिधि, वार्डका कर्मचारी र अन्य समुदायका ब्यक्तिसँग भएको बुझिएकाले कन्ट्याक ट्रेसिङको सहजताका लागि कार्यालय बन्द गरिएको उनले बताइन् ।

वडामा राष्ट्रिय कार्यक्रमको रुपमा रहेको राष्ट्रिय परिचय पत्र बितरणको कार्यक्रम संचालन भइरहेकोले भिडभाड बढिरहेको छ । उक्त कार्यक्रममा हुने भिडले संक्रमणलाई अझ बढाउन सक्ने आशंकाले कार्यालय बन्द गरिएको विज्ञप्चिमार्फत तीन वटै कार्यालयले जनाएका छन् ।

तीन वटै वडा कार्यालय एउटै भवनबाट सञ्चालन भइरहेकोले तीन दिनलाई कार्यालय बन्द गरी परिचय पत्र आबेदन समेत बन्द गरिएको पकुवालले जानकारी दिइन् ।