झापा । झापाको अर्जुनधारा नगरपालिकाको ४ र ५ नम्बर वडा जोड्ने गरी विरिङ खोला माथि निर्माण गरिएको झोलुङ्गे पुलको आइतबार नगरपालिकाको तर्फबाट अवलोकन गरिएको छ ।
नगरका मेयर हरिकुमार राना तथा प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङले अवलोकन गरेका हुन् । उनीहरुले मदनपुर र लक्ष्मीपुर क्षेत्रलाई जोड्नका लागि निर्माण गरिएको उक्त झोलुङ्गे पुलको अवलोकन गरेका हुन् ।
संघीय सरकारको १ करोड २० लाख रुपैयाँ आर्थिक सहयोगमा निर्माण गरिएको उक्त पुलको लम्वाई १ सय ६३.५५ मिटर रहेको निर्माण समितिका संयोजक केदार पराजुलीले बताए ।
बर्षौंपछि उक्त क्षेत्रमा झोलुङ्गे पुल निर्माण भएपछि स्थानीय पनि खुसी भएका छन् । पुलको अभावमा बर्खाको समयमा उक्त वडाका स्थानीय खोलाबाटै जोखिम मोलेर आउजाउ गर्न बाध्य थिए ।
पुल निमार्ण भएसंगै बर्षौंदेखिको स्थानीयको दुःख कष्ट समाप्त भएको छ । निर्माण सम्पन्न भई सञ्चालनमै आइसकेको उक्त पुल स्थानीयसहित आन्तरिक तथा बाह्य पर्यटकलाई पनि आकर्षित गर्ने नगरपालिकाले जनाएको छ ।