अर्जुनधारा । झापाको अर्जुनधारा-१ स्थित हलुवागढ कालिखोला पर्यापर्यटन क्षेत्र सर्वसाधारणका लागि शनिबारदेखि खुला गरिएको छ ।
अर्जुनधारा नगरपालिकाको पर्यटकीय क्षेत्रमध्ये सम्भावना बोकेको क्षेत्र हलुवागढ पनि हो । आज अनौपचारिक कार्यक्रममा उपस्थित सहभागीहरुमध्ये ज्येष्ठ नागरिक पदमबहादुर आचार्यलाई टिकट प्रदान गर्दै सो क्षेत्र सर्वसाधारणका लागि खुला गरिएको संकेत गरियो ।
स्थानीय हलुवागढ सामुदायिक वन उपभोक्ता समूहले वन संरक्षणसँगै २०७५ साल भदौदेखि पर्यापर्यटन क्षेत्रको भौतिक विकास निर्माण कार्य सुरु गरेको थियो । आजदेखि खुला गरिएको उक्त क्षेत्रमा प्रवेशका लागि वन समूहका उपभोक्तालाई प्रतिव्यक्ति १५ रुपैयाँ र अन्य सर्वसाधारणका लागि भने प्रतिव्यक्ति ३० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
हाल सो क्षेत्रमा सञ्चालनमा रहेको डुंगा शयर र बाल उद्यानमा पनि समूहको उपभोक्तालाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । अन्य सर्वसाधारणका लागि डुंगा शयर प्रतिव्यक्ति ५० रुपैयाँ र बाल उद्यानमा पनि प्रति व्यक्ति ५० रुपैयाँ (प्रवेश शुल्कसहित) निर्धारण गरिएको समूहका अध्यक्ष चक्रबहादुर तामाङले बताए ।
कोभिड-१९ महामारीको जोखिमको कारण सांकेतिकरुपमा सञ्चालन सुरु गरिएको उक्त क्षेत्रको समय अनुकूल भएपछि १५ दिने महोत्सवसँगै वृहतरुपमा उद्घाटन कार्यक्रम गरिने समूहका अध्यक्ष तामाङ बताउँछन् ।

सम्बन्धित निकाय र सरोकारवालासँगको सहकार्यमा दीर्घकालिन पर्यावरणीय व्यावसायिक पर्यापर्यटन परियोजना सञ्चालन गरी समुदायको समुन्नती गर्ने उद्देश्यले समूहको ४ दशमलव ७ हेक्टर क्षेत्रफलमा स्थापना गरिएको सो क्षेत्रमा हालसम्म दुई करोड ५१ लाख रुपैयाँ लगानी भइसकेको अध्यक्ष तामाङले जानकारी दिए ।
तीनवटै तहको एक करोड ३१ लाख र समूहको एक करोड २० लाख रुपैयाँको लगानीमा हालसम्म प्रवेशद्वार, कम्पाउण्ड वाल, सुरुङ मार्ग, मन्दिर, वनभोज स्थल, उद्यान, पार्किङ, शौचालयलगायत निर्माण भइसकेको पयापर्यटन क्षेत्रका उपसंयोजक मदन बरालले जानकारी दिए ।
त्यसैगरी आदिवासी संग्राहलय, जलाशयलगायत निर्माण भइरहेको उक्त परियोजना अन्र्तगत सातकटेरी भिलेज होमस्टे, मदन भण्डारी राजमार्ग हबलगायत सञ्चालन गर्ने लक्ष्य समूहको रहेको उपसंयोजक बरालले बताए ।