विराटनगर । प्रदेश १ सरकारले मोरङको ग्रामथानमा निर्माण गर्न लागेको ज्येष्ठ नागरिक ग्रामको गुरु योजनाबारे छलफल गरिएको छ । शृखंला खतिवडा नेतृत्वको प्राविधिक टिमले तयार पारेको गुरु योजनाबारे आज सरोकारवालासँग अनलाइन छलफल गरिएको हो ।

छलफलमा आएका सुझावसहित समेटेर गुरु योजनालाई अन्तिम रुप दिइने खतिवडाले बताउनुभयो । ज्येष्ठ नागरिक ग्राममा निर्माण गरिने संरचनाका बारेमा इन्जिनियर शुभम कोइरालाले प्रस्तुति गर्नुभएको थियो । सामाजिक विकास मन्त्रालयले मानव सेवा आश्रमसँगको सहकार्यमा ज्येष्ठ नागरिक र मानव सेवा ग्राम निर्माण गर्ने भएको छ । योजनाअनुरुप १० विगाहा १४ कठ्ठामा ७२ वटा घरहरु निर्माण गरिनेछ ।

सामाजिक विकास मन्त्रालयले चालु आर्थिक वर्षका लागि ३ करोड ५० लाख बजेट विनियोजन गरेको छ । भवन निर्माणको शिलान्यास चाँडै गर्नेगरी मन्त्रालयले काम अघि बढाएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो ।

उहाँले परियोजना सम्पन्न भएपछि अहिले सञ्चालनमा रहेका आश्रमहरु भन्दा स्तरीय बन्ने बताउनुभयो । ज्येष्ठ नागरिक ग्राम बेसहाराहरुका लागि भन्दा पनि सम्मानजनक बस्न सकिन्छ भन्ने अवधारणाबाट शुरु गरिएको मन्त्री घिमिरेले बताउनुभयो । उहाँले ज्येष्ठ नागरिक ग्राममा निर्माण गरिने चिल्ड्रेन पार्कलाई नलेज पार्कका रुपमा विकास गरिने बताउनुभयो । छलफल कार्यक्रममा जेष्ठ नागरिक अभियानन्ताहरु मणि अज्र्याल, कृष्ण भण्डारी मार्सेली, कुमार आचार्यलगायतको सहभागिता रहेको थियो ।