बिर्तामोड । झापा क्षेत्र नं. २ की संघीय सांसद पबित्रा निरौला खरेल र प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले निर्माणाधीन झापा नाटक घरलाई पूर्णता दिन सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । क्षितिज नाट्य समूह झापाको अगुवाईमा निर्माणाधीन नाटक घर बहुभाषी, बहुजातीय, बहुसांस्कृतिक संग्रहालयसहितको हुनेछ ।

झापाको बिर्तामोड–१ देवी पञ्चकन्या उत्तरमा निर्माण भइरहेको बहुभाषी, बहुजातीय, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घरको अनुगमन गर्दै उनीहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

संग्रहालयसहितको झापा नाटक घर प्रदेश नं. १ कै ऐतिहासिक धरोहरका रुपमा निर्माण भइरहेकाले यसलाई पूर्णता दिन आफूहरु लागीपर्ने उनीहरुको भनाई थियो । उनीहरुले रंग साहित्यको विकासका लागि क्षितिज नाट्य समूह झापाले खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।

झापा नाटक घर निर्माण व्यवस्थापन समितिका संयोजक ज्ञानुराम प्रसाई, झापा नाटक घर निर्माण उपभोक्ता समितिका बरिष्ठ उपाध्यक्ष हरिप्रसाद भण्डारी, क्षितिज नाट्य समुहका केन्द्रीय अध्यक्ष तथा झापा नाटक घर निर्माण व्यवस्थापन समितिका सचिव माधव कल्पितले सांसद खरेल र मन्त्री घिमिरेलाई झापा नाटक घर निर्माणमा भइरहेको प्रगतिबारे जानकारी गराएका थिए ।

बिर्तामोड–१ का मनोज निरौलाले निःशुल्क प्रदान गरेको साढे तीन कठ्ठा जग्गा र निरौलाकै छ कठ्ठा जग्गा १० वर्ष लिजमा लिएर संग्रहालयसहितको झापा नाटक घरको निर्माण शुरु गरेको र हालसम्म झापा नाटक घरको निर्माणको ४० प्रतिशत कार्य सकिएको क्षितिज नाट्य समुहका केन्द्रीय अध्यक्ष तथा झापा नाटक घर निर्माण व्यवस्थापन समितिका सचिव माधब कल्पितले उनीहरुलाई जानकारी गराएका थिए ।

दुई करोड ५० लाख रुपैयाँको लागतमा २०७६ साल असार ११ गते झापा नाटक घर निर्माण शुरु गरे पनि कोरोना भाइरसको संक्रमणबाट वच्न सरकारले गत चैत ११ गते लकडाउन गरेसंगै निर्माण कार्य स्थगित गरिएको समितिका सचिव माधब कल्पितले बताए ।