बिर्तामोड । बिर्तामोड नगरपालिकाले यसवर्षको तिहारमा देउसी भैलो खेल्न रोक लगाएको छ । बिर्तामोड नगरपालिकाको कोरोना संक्रमण रोकथाम तथा राहत व्यवस्थापन नगर समन्वय समितिले देउसी भैलो खेल्ने, नाचगान गर्ने जस्ता सबै क्रियाकलापहरु बन्द गर्ने निर्णय गरेको हो ।
शुक्रबार बसेको समितिको बैठकले सबै पक्षसँग समन्वय गरी चाडवाडलाई एकाघरमा मात्र सीमित गरी मनाउने साथै नगरभित्र संचालित होटल, रेष्टुरेन्ट राति ८ बजेपछि बन्द गर्ने निर्णयसमेत गरेको छ ।
नगरभित्रका व्यापार व्यवसाय र बजारहरु पूर्णरुपमा नेपाल सरकारद्वारा जारी स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी संचालन गर्ने गराउने, त्यसको नगर प्रमुख, उप-प्रमुख समेतको टोलीबाट अनुगमन गर्ने ,नगरभित्र रहेका यातायात कार्यालय, विद्युत प्राधिकरणजस्ता भीडभाड हुने कार्यालयबाट दिइने सेवालाई व्यवस्थित गर्न-गराउन नगर प्रमुखको नेतृत्वमा सम्बन्धित कार्यालयको अनुगमन गरी व्यवस्थापनको प्रवन्ध गर्ने गराउने, कोभिड-१९ सँग मिल्दोजुल्दो लक्षण भई घरमा नै पिसिआर नगरी बसेका सबै व्यक्तिहरुलाई पहिचान गरी पिसिआरको दायरालाई बृद्धि गर्ने , विरामी पहिचानको लागि वडामार्फत टोल विकास संस्था परिचालन गर्ने, निःशुल्क पिसिआर टेस्टको लागि स्रोतको पहिचान गर्ने निर्णय गरिएको नगर प्रमुख ध्रुवकुमार शिवाकोटीले बताए ।
उनले हालको बिर्तामोडको वस्तुगत स्थितिबारे जिल्ला कोरोना समन्वय समितिमा जानकारी दिदै कोरोना संक्रमणको रोकथाम गर्न लकडाउन वा अन्य उपयुक्त विकल्प सहितको कार्यक्रम ल्याउन अनुरोध गर्ने गरिएकोसमेत जानकारी दिए ।
त्यस्तै संक्रमित मृतकको दाहसंस्कारका लागि अत्यधिक मानिस भेला भई मलामी जाने परिपाटीलाई कम गर्न सबैमा आव्हान गर्ने साथै समवेदना दिन जाँदा समेत सामाजिक दुरी र सवारी मापदण्ड कायम गर्न अनुरोध गर्ने निर्णय गरिएको शिवाकोटीले बताए ।
नगरभित्र स्थापना भएको ५ वेडको अक्सिजनसहितको आइसोलेसन अस्पतालमा वेड संख्या थप्ने व्यवस्था मिलाई नगरभित्र रहेका निजी अस्पतालहरुसँग समन्वय र सहयकार्य गरी कोभिडका विरामीहरुका लागि छुटै भेन्टिलेटरसहितको आइसियु संचालन गर्न पहल गर्ने निर्णय गरिएको जनाइएको छ ।