अर्जुनधारा । लामो समयको लकडाउन र कोभिड १९ को महामारीका कारण मारमा परेका अर्जुनधारा जलेश्वरधामका बटुकहरुलाई एक परिवारले न्यानो कपडासहित खाद्यान्न प्रदान गरेका छन् ।
पूर्वका पशुपतिनाथले परिचित अर्जुनधारा जलेश्वरधाम लकडाउनसँगै बन्द रहेकाले आर्थिक संकट उत्पन्न भएको समाचार यसअघि विभिन्न सञ्चार माध्यममा आएको थियो । यसैबीच, झापा चारपानेका न्यौपाने परिवारले बिहीबार धाममै पुगेर लत्ताकपडासँगै खाद्यान्न प्रदान गरेका हुन् ।
अमेरिका बस्दै आएकी सुधा न्यौपाने, इन्दिरा न्यौपानेले आफ्नी दिवंगत आमा गंगादेवी न्यौपानेको पुण्यतिथिमा अर्जुनधाराका बटुकहरुलाई खाद्यान्नसँगै लत्ताकपडा प्रदान गरेकी हुन् । एक अनौपचारिक कार्यक्रममा ३३ थान ब्ल्यांकेट, चामल र सागसब्जी बटुकहरुलाई प्रदान गरियो ।
जलेश्वरधामका मुल अर्चक अग्नि सिग्देलले दातालाई धन्यवाद दिँदै धामको अवस्थाबारे जानकारी गराएका थिए । उनका अनुसार अहिले धाममा भारतका ६ जनासहित ५५ जना बटुकहरु अध्ययनरत छन् । उनीहरुको अध्ययनसँगै आवास र भोजन निःशूल्करुपमा धामले व्यवस्थापन गर्दै आएको छ ।