प्रकाश नेपाल,
इलाम । सुर्योदय दृश्यावलोकनका लागि इलामका विभिन्न स्थान परिचित छन् । जिल्लाको सन्दकपुर, अन्तुडाँडा, झण्डीडाँडा सूर्योदय दृश्यावलोकनका लागि चर्चित ठाँउहरु भए पनि पछिल्लो समय रोङमा रहेको गुगल डाँडाले समेत चर्चा पाउन थालेको छ ।

जहाँबाट सूर्योदयको मनोरम दृश्यका साथै हिमाल र तराईका सुन्दर फाँटहरु देख्न सकिन्छ । झापासँग सिमाना जोडिएको इलामको रोङ गाउँपालिकाले सूर्योदय दृश्यावलोकनका लागि नयाँ पर्यटकीय गन्तव्यको पहिचान गरेको छ ।

एक हजार आठ सय २५ मीटर उचाईमा रहेको गाँउपलिकाको वडा नम्बर ३ मा पर्ने भूमापन केन्द्र रहेको गुगल डाँडाबाट सुर्योदयका साथै हिमाल पहाड तराईको सहजै दृश्यावलोकन गर्न सकिने गाउँपालिका अध्यक्ष शमशेर राई बताउनुहुन्छ ।

पछिल्लो समय यहाँ घाम झुल्केको हेर्नेको भीड नै जम्मा हुन थालेको छ । इलामको कन्याम चिया बगान र सानो पाथीभरा मन्दिरकोबीच भागमा रहेको गुगल डाँडाबाट कञ्चन्जंगा लगायतका हिम श्रृंखला अवलोकन गर्न सकिन्छ ।

कन्याम चियाबारीमाथि हिमालको दृश्यले मनै लोभ्याउने आकर्षण थपेको छ । यतिमात्र होइन झापा लगायत भारतका समेत विभिन्न शहरको दृश्य हेर्न सकिने स्थानिय बताउछन् ।

मेची लोकमार्गको नजिकै रहेको गुगल डाँडासम्म पदमार्ग निर्माणमा गाउँपालिका जुटेको छ । नजिकै रहेका कन्याम चियाबारीका साथै हाँसपोखरी ,पाथीभरा देविको मन्दिर क्षेत्र समेटेर नयाँ गन्तव्यको रुपमा गुगल डाँडालाई विकास गर्न सकिने सम्भावना देखिएको छ ।

यस क्षेत्रलाई प्रचारप्रसार गर्न सके इलामको एक अब्बल पर्यटकीय क्षेत्र बन्नेमा दुईमत छैन तर तीनै तहका सरकारको एकसाथ नजर पुग्न भने जरुर देखिन्छ । इमेज खबरबाट