फिक्कल । इलामको फाकफोकथुम गाउँपालिका-५ लुम्देमा गएराति पिकअप पल्टिँदा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा माई-९ वोरुङका बिमल भनिने दिनेश लिम्बु र ईलाम नगरपालिका-११ सोयाक निर्फुकका नविन वुलुन रहेका छन् । उनीहरुको घटनास्थलमा नै मृत्यु भएको हो ।

माई नगरपालिकाबाट सामान लिई गएको को २ च १५ नम्बरको पिकअप लुम्देबाट तरकारी बोकेर फर्कने क्रममा थुम्कीडाँडावाट करिब ३ सय मिटर तल खसेको थियो । रात परेको कारण दुवै जनाको शवलाई भिरवाट निकाल्न नसकिएको घटनास्थलमा रहेका नेकपा फाकफोकथुम गाँउपालिकाका अध्यक्ष दिपेन्द्र खनालले बताए ।

खनालका अनुसार दुर्घटना भएको क्षेत्रमा सवारीसाधनको सुरक्षाको लागि करिब ५ फुटको बार लगाइएको भए पनि पिकअपले त्यसलाई नछोइ भिरबाट तल खसेको थियो । गम्भीर घाइते भएका माई-१ का विकास तामाङलाई उपचारका लागि ईलाम ल्याइएको सवारीधनी सचिन राईले जानकारी दिए ।

राईका अनुसार ब्रेकफेल भइ अनियन्त्रित हुँदा सडकबाट पिकअप खसेको थियो । मृतकहरुमध्ये एक जना गाडीभित्र चेपिएका छन् भने एक जना भिरमा नै अड्किएका छन् ।