फाइल तस्वीर ।

ताप्लेजुङ । यहाँस्थित पाथीभरा क्षेत्रको जङ्गलमा लागेको डढेलो कञ्चनजङ्घा संरक्षण क्षेत्रमा प्रवेश गरेको छ। आज बिहान कञ्चनजङ्घा संरक्षण क्षेत्रमा डढेलो प्रवेश गरेको देखिएपछि फक्ताङलुङ गाउँपालिका–५ तापेथोक बिहानी उपभोक्ता समिति पदाधिकारी र संरक्षण बासिन्दा त्यहाँ पुगेका छन्।

कञ्चनजङ्घा संरक्षण क्षेत्रअन्तर्गत लुकुम्पा सामुदायिक वनमा आज बिहान डढेलो प्रवेश गरेको पाथीभरा क्षेत्र विकासका कर्मचारी राजेन्द्र महतले जानकारी दिए। हिजो बिहान पाथिभरा मन्दिर क्षेत्रमा डढेलो प्रवेश गरेपछि नियन्त्रणका लागि हेलिकोप्टर प्रयोग गरिएको थियो। सिम्रिक एयरको हेलिकोप्टर ल्याएर डढेलोमा पानी छर्किए पनि प्रभावकारी हुन नसकेको महतले बताए।

संरक्षण क्षेत्रमा आगो प्रवेश गर्न नदिनका लागि लुकुम्पा सामुदायिक वनमा पुगेर स्थानीयले प्रयास गरिरहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिए।

उनले भने, ‘ठूलो आगोको ज्वालामा हेलिकोप्टरबाट झारेको पानी त पेट्रोल पो बन्दोरहेछ। आगो नियन्त्रण हुनुपर्नेमा झन् ठूलो फैलिँदोरहेछ।’ पाथीभरा मन्दिरको संरचना भने डढेलोले असर नगरेको महतले जानकारी बताए।

सोमबार सिम्रिक एयरको हेलिकोप्टरमार्फत जोरपोखरीको पानी पाँचपटक ल्याएर आगो नियन्त्रण प्रयास गरिएको थियो। त्यहीकारण मन्दिर परिसर क्षेत्रका संरचना बचाउन सफल भएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए।

बिहीबारदेखि लागेको डढेलोका कारण ठूलो क्षेत्रफलको जङ्गल नष्ट भएको छ भने सो क्षेत्रमा रहेका दर्जनौँ गोठसमेत जोखिममा परेका छन्। जङ्गलमा अझै आगो सल्किरहेकाले सिरिजङ्घा गाउँपालिकामा पर्ने सिकैचास्थित ढाँडे साथै हर्कटे क्षेत्रमा रहेका गोठहरु जोखिममा परेका हुन्। पाथीभरा क्षेत्रमा दुर्लभ वन्यजन्तु रेडपाण्डाबो बासस्थान छ। रासस