अर्जुनधारा । नेपालका किरात लिम्बू समुदायको महान चाड ‘चासोक तङ्नाम’ विविध सांस्कृतिक पूजाआजा गरी मनाइएको छ । यस क्रममा झापा अर्जुनधाराका लिम्बू समुदायले मदनपुर खेल मैदानमा एक कार्यक्रम आयोजना गरी मनाएका छन् ।

यस पर्वमा घरमा भित्र्ययाइएको नयाँ अन्नबाली कुलदेवता युमामा चढाइसकेपछि खानको लागि अनुमति लिने चलन छ । तङ्नामको अवसरमा नयाँ अन्नबालीबाट बनाइएका परिकार खाने चलन छ ।

पछिल्लो समय चासोक तङ्नामको अवसरमा लिम्बू समुदायमा शुभकामना आदानप्रदान, आत्मियता र सद्भाव साटासाट गरी मनाउने चलन पनि विकसित हुँदै गएको छ । प्रकृति पूजक लिम्बू समुदायले प्रकृतिको पूजा गर्दै यो चाड धुमधामका साथ मनाउने गर्दछन् ।

किरात महान चाड चासोक तङनाम (उधौली पर्व) तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी अर्जुनधाराको चासोक तङनाम व्यवस्थापन समितिको आयोजनामा सम्पन्न भएको हो । मदनपुर युवा क्लब सहयोगी रहेको कार्यक्रममा पूजाआजा सकेर सांस्कृतिक धरोहरको रुपमा रहेको माङलाङ, केलाङ र धान नाच (याराक्मा) सामुहिकरुपमा मनाइयो ।

यसैगरी, लिम्बू समुदायमा प्रचलित पक्लुङ लेक्मा (छेलो हान्ने), तेरेङ हेप्मा (हाँडी फुटाउने) र खिबो कुङमा (डोरी तान्ने) परम्परागत खेल पनि आयोजना गरिएको थियो । छेलो हान्नेको पुरुषतर्फ टंक लिम्बुले सर्वाधिक २९.८ फिट र महिलातर्फ मायादेवी राईले १९.४ फिट हान्दै उत्कृष्ट घोषित भए । उनीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

यस्तै, हाँडी फुटाउने कार्यक्रममा कसैले सफलता नपाए पनि आयोजकले नजिकको दूरी पुग्ने सहभागीलाई पुरस्कृत गरेको छ । जसमा जामुना लिम्बू र भीमबहादुर राई उत्कृष्ट भए । यस्तै, डोरी तान्ने खेलमा टाङटिङ पारीका सहभागीले वारीका सहभागीलाई पराजित गरी उत्कृष्ट सावित गरे ।

आयोजक समितिका संयोजक राजेश जवेगुको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य विजेन्द्र एक्तेनले स्वागत गरेका थिए भने सदस्य खगेन्द्र लिङदेनको सञ्चालन रहेको थियो ।

कार्यक्रममा खेलकुद विधाको संयोजन गरेका उपसंयोजक विजय सेन्दाङले आउँदो वर्षदेखि अर्जुनधारा सिंगो नगरका लिम्बू समुदायलाई एकै ठाउँमा सहभागी गराई लिम्बू जातिको धरोहरको रुपमा रहेको चासोक तङनाम मनाइने धारणा राखे ।

कार्यक्रममा भ्वाइस अफ नेपाल सिजन २ का फाइनलिस्ट विकास लिम्बू, स्थानीय कलाकारहरु विकास लिम्बूू, सन्तोष आले, ज्योति लामिछाने र यमुना क्षेत्रीले पनि आफ्नो प्रस्तुति दिएका थिए ।