काठमाण्डौ । यस वर्ष हिउँदयाममा पानी नपर्दा विभिन्न बालीनालीको उत्पादन घट्ने चिन्ता बढेको छ । प्रायः कात्तिक-मङ्सिरमा एक-दुई पटक पानी पर्ने गरेको भए पनि यो वर्ष मनसुन सकिएपछि पानी नपरेको मौसमविद् वरुण पौडेलले बताउनुभयो ।
सोमबार (हिजो) सुदुरपश्चिम र कर्णालीका केही ठाउँमा सामान्य पानी परेको भए पनि अरू ठाउँमा तीन महिनादेखि पानी नपरेको मौसमविद् पौडेलले बताउनुभयो । पानी नपर्दा तोरीको उत्पादन घटेको तथा पहाडी र हिमाली क्षेत्रमा गहुँ, फापरलगायतका बालीमा सुख्खा लागेको किसानहरूले बताएका छन् । अब पनि पानी नपरे पहाडी तथा हिमाली क्षेत्रका हिउँदे बाली उत्पादन घट्ने उनीहरूको भनाइ छ ।
तीन महिना पानी नपर्दा धेरै खडेरी लागेको भन्न नमिले पनि केही बालीहरूमा उत्पादन घट्ने कृषि विभागका वरिष्ठ कृषि अर्थ विज्ञ डाक्टर महादेवप्रसाद पौडेलले बताउनुभयो । आकाशे पानीको भरमा खेती गर्नेहरूको हिउँदे बालीलाई कात्तिकरमङ्सिरमा पानी पर्दा उपयुक्त हुने भए पनि यो वर्ष पानी नपरेको उहाँले बताउनुभयो ।
यसबेलासम्म पानी परेमा धेरै नोक्सान नहुने भए पनि अब केही समय पानी नपरेमा पहाडी तथा हिमाली क्षेत्रको गहुँ, फापर तथा आलु बालीमा समेत असर देखिने पौडेलले बताउनुभयो ।
अहिले कायम रहेको पश्चिमी वायुको प्रभावले पानी पार्ने आशा गरेको भए पनि पानी नपर्दा निराश बनाएको किसानहरूले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने सम्भावना रहेको बताए पनि सुदूरपश्चिम र कर्णालीका केही ठाउँबाहेक अरू ठाउँमा पानी परेको छैन । पश्चिमी वायु पर्सि (बिहीबार) देखि कमजोर बन्दै जाने विभागले जनाएको छ । उज्यालो अनलाइनबाट