झापा । एशियामै जैविक विविधतामा धनी रहेको जलथल जंगल संकटमा परेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । विश्वमै नपाइने वनस्पति पाइने जलथल जंगललाई जोगाउनु पर्ने उनीहरुको जोड छ ।
विश्व सिमसार दिवसको अवसरमा जिल्ला समन्वय समिति झापाको आयोजना तथा फरेष्ट एक्सन नेपालको सह–आयोजनामा भएको जलथल वन अवलोकन तथा अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले त्यस्तो जोड दिएका हुन् ।
कार्यक्रममा बोल्दै हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले रुख मात्र जोगाउने नभएर वनमा रहेका सम्पूर्ण जैविक विविधता जोगाउनु वन समूहहरुको दायित्व भएको बताए । उनले जलथल जंगल वास्तविक सिमसार भएको भन्दै के कारणले पानी सोसिरहेको छ भन्ने कारण पत्ता लगाउन जरुरी भएको धारणा राखे ।
‘जंगललाई पर्यटकीयस्थलको रुपमा विकास गर्न गाउँपालिकाले ५० फुटको बाटो रेखांकन गरेको छ’, उनले भने, ‘त्यसका लागि यस वर्ष १ करोड बजेट छुट्याएका छौं ।’ जैविक विविधता जोगाउन कसैलाई पनि जंगलमा प्रवेश गर्न नदिनु पर्ने उनको भनाइ थियो ।
डिभिजन वन कार्यालय झापाका प्रमुख युवराज श्रेष्ठले जलथल जंगलको सिमसारको विशेषतालाई उजागर गरी रामसारमा सूचीकृत गर्नसके विश्वमा पर्यापर्यटनका लागि एकीकृत विकास गर्न सकिने बताए । उनले त्यसका लागि ठूलो लगानी र प्रयास चाहिने आवश्यकता पनि औंल्याए ।
कार्यक्रममा फरेष्ट एक्सन नेपालका डा लीलानाथ शर्माले नेपालकै होचो ठाउँमा अवस्थित जलथल जंगलमा नेपालमा अन्यत्र नपाएको ६ प्रजातिका वनस्पति भेटिएको जानकारी दिए । करिव १२ वर्षदेखि अध्ययन गरिरहेका विज्ञ शर्माले जलथल जंगल जैविक विविधताले नेपालकै धनी भएको बताए ।
जलथल जंगलमा रहेको सिमसारमा पानीको मुहान सुक्दै गएको, वन्यजन्तुहरु नासिदै गएको, चराचुरुङ्गीहरु हराउँदै गएकोमा उनले चिन्ता व्यक्त गरे । मानवको आर्थिक विकास सँगसँगै सिमसारलाई पनि विकसित गर्दै लैजानु पर्नेमा उनले जोड दिए । जलथलमा १७० किसिमका चरा, १५० किसिमका पुतलीहरु रहेका छन् ।
त्यस्तै कटुस, लटहर, बेत, सतिसालजस्ता दुर्लभ वनस्पति, बदेल, हरिणजस्ता वन्यजन्तु त्यहाँ पाइन्छ । केही वर्षयता सालक, बाँदरसस्ता वन्यजन्तु लोप हुँदै गएको डा शर्माले बताए । कार्यक्रमको अध्यक्षता गरेका जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले जलथलको जंगललाई हात्तीको करिडोरको रुपमा विकास गर्न सकिने संभावना रहेको बताए ।
उनले जैविक विविधतामा एशियाकै धनी जलथल जंगललाई संरक्षण र संवद्र्धन गर्न सवै लाग्नुपर्ने खाँचो औँल्याए । पाथीभरा कालिका सामुदायिक वन समूहको कार्यालयमा भएको कार्यक्रममा स्वागत सोही वन समूहका अध्यक्ष चिरञ्जीवी पौडेलले गरेका थिए भने संचालन समन्वय अधिकारी रुद्रप्रसाद न्यौपानेले गरेका थिए ।
अन्तरक्रिया अघि सहभागीहरुलाई जलथल जंगलमा माइकेनिया प्रजातिको मिचाहा झारले पारेको प्रभावबारे देखाउन जंगलको अवलोकन गराइएको थियो । जिल्लाको भद्रपुर नगरपालिका, कचनकवल, बाह्रदशी र हल्दिबारी गाउँपालिकामा फैलिएको चारकोशे झाडीको जलथल जंगलको क्षेत्रफल ६३ सय हेक्टर रहेको थियो । जुन घट्दै गएको छ । जिल्लाको करिव १८ हजार वन क्षेत्रमध्ये एकतिहाई भाग जलथल जंगलले ओगटेको छ । जलथलमा २२ वटा वन समूहहरु रहेका छन् ।