अर्जुनधारा । सामुदायिक वनमा भएको तालाबन्दी प्रकरणलाई किनारा लगाउन वडा कार्यालयले संयोजनकारी भूमिका निर्वाह गर्ने भएको छ । झापाको अर्जुनधारा १ स्थित हलुवागढ सामुदायिक वन उपभोक्ता समूहको कार्यालयमा भएको तालाबन्दीको विषयमा स्थानीय वडा कार्यालयले संयोजन गर्ने भएको हो ।
समूहको कार्यालय परिसरमा बुधबार आयोजित पत्रकार भेटघाटमा उक्त समस्याको समाधानका लागि वडाले सक्दो भूमिका निर्वाह गर्ने वडा सदस्य दिलबहादुर सारु मगरले प्रतिबद्धता व्यक्त गरे । समूहमा आर्थिक अनियमितता भएको भन्दै असन्तुष्ट उपभोक्ताको एक समूहले वन समूहको कार्यालयमा माघ १८ गते तालाबन्दी गरेको थियो । तर, त्यसको भोलिपल्टै नचिनेको समूहले ताला फोरेपछि वडा कार्यालयकै पहलमा गरिने भनिएको छलफल भाँडिएको थियो ।
उपभोक्ताले लगाएको ताला फोरिएपछि नेपाली कांग्रेस १ नम्बर वडा समितिले हिजो (मंगलबार) फेरि ताला लगाएको छ । एकपछि अर्को तालाबन्दी भएपछि समस्या समाधानका लागि वन समूहले नै बुधबार पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गरेको हो ।
समूहका अध्यक्ष चक्र तामाङले पनि कार्यालयमा गरिएको तालाबन्दीको विषयमा समूहको कार्यसमितिले भन्दा वडा कार्यालयले नै संयोजन गर्नु उपयुक्त हुने बताउँदै आवश्यक प्रक्रियाका लागि वडासँग आग्रह गरे । उनले उपभोक्ताको मागलाई समितिले सम्बोधन गर्ने तर विना जानकारी गरिएको तालाबन्दीको जिम्मेवारी समितिले नलिने पनि प्रष्ट पारे । विना बोधार्थ गरिएको तालाबन्दी र त्यस फोरिएको अवस्थालाई लिएर राजनीतिक दलले स्वयं अध्यक्षले नै ताला फोरेको भन्ने आरोपको कडारुपमा उनले खण्डन गरेका छन् ।
उनले आवश्यक प्रमाण विना ताला तोडिएको घटनाको विषयमा आफ्नो संलग्नता रहेको भन्ने नेपाली कांग्रेस वडा समितिको प्रेस विज्ञप्तिप्रति आपत्ती जनाउँदै उक्त आरोप फिर्ता लिन समेत आग्रह गरेका छन् । ताला फोरिएको प्रमाण भए आफू जस्तोसुकै सजाय भोग्न तयार रहेको तर राजनीति गर्नका लागि आरोप लगाउन कसैलाई छुट नभएको भन्दै चरित्र हत्या गर्न कुनै समूह अग्रसर नहुन पनि उनले आग्रह गरे ।
त्यस्तै आन्तरिक लेखा समितिको प्रतिवेदनमा उल्लेखित टिप्पणीहरुको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीमा परेको मुद्दाको अन्तिम किनारा नलाग्दासम्म असन्तुष्ट उपभोक्ताहरुले हाल भइरहेको समूहको टोल भेला रोक्नु भन्ने विषयमा पनि सब डिभिजन वन कार्यालय सुरुङ्गाबाट पत्र प्राप्त भएको बताइएको छ । उक्त पत्रमा समूहको काम नरोक्नु र टोल भेलाबाट अनुमोदन भएको कुरालाई साधारणसभामा पेश गर्नु भन्ने व्यहोरा खुलाइएको हुँदा टोल भेला सञ्चालन भइरहेको अध्यक्ष तामाङले प्रष्ट पारे ।
सोही पत्रको आधारमा गत आइतबारबाट समूहको पाँच वटा टोलमध्ये बुधबारसम्म चार वटा टोलको भेला सम्पन्न भइसकेको समूहकी सचिव तारादेवी आचार्यले जानकारी दिइन् । कार्यसूची अनुसार कार्यसमितिको टोल भेला बिहीबार सम्पन्न हुने र २३ गते (शुक्रबार) २३औं साधारणसभा हुने कार्यक्रम रहेको छ । अध्यक्ष तामाङको अध्यक्षतामा आयोजित कार्यक्रममा समूहद्वारा जारी प्रेस विज्ञप्ति अध्यक्ष तामाङले प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव आचार्यले गरेकी थिइन् ।