झापा । आज बिहान बुद्धशान्तिमा जंगली हात्तीको आक्रमणबाट घाइते भएका दुई जनामध्ये एकजनाको मृत्यु भएको छ ।
बिहान ७ः१० बजे बुद्धशान्ति गाउँपालिका–२ स्थित बिन्धुली बाँधमा आएको जंगली हात्तीको आक्रमणबाट ईलाम देउमाई नगरपालिका–१० ढोडेनी १९ वर्षिय बिजय भन्ने कृतिमान खाती र अर्जुनधारा नगरपालिका–१ सिस्ने बस्ने १९ वर्षिय मिलन कार्की डोली घाइते भएका थिए ।
गंभीर अवस्थाका खातीको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेकोमा बिहान ११ः४५ बजे थप उपचारको लागि मेची अस्पताल भद्रपुर रेफर गरिएकोमा उपचारको क्रममा दिउँसो १२ः३५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै सामान्य अवस्थाका कार्कीको लिभिङ होम पोलिक्लिनिक बुधबारेमा उपचार भइरहेको छ । दुवै जना ट्याक्टरमा काम गर्ने लेबर हुन् । त्यस्तै बुद्धशान्ति २ बस्ने मणी कट्टेलको बाछीलाई हात्तीले दाराले प्रहार गर्दा बाछीको पेटमा गहिरो चोट लागेको जनाइएको छ ।
जंगली हात्तीलाई धपाउन खोज्दा आक्रमण गरी घाइते बनाएको हो । हात्तीलाई स्थानीय र प्रहरीले लखेटिसकेको ईलाका प्रहरी कार्यालय बुधबारेले जनाएको छ ।