इलाम। अदालती प्रक्रिया बिना ४० वर्ष भारतीय जेलमा राखिएका दुर्गाप्रसाद तिम्सिना गएको शनिबार घर आएसँगै आज (बिहीबार) नागरिकता लिने भएका छन् ।

नागरिक बनाउनका लागि आज परिवार र सहयोगीसँगै जिल्ला प्रशासन कार्यालय आउने उनका भतिज गोपाल तिम्सिनाले बताए । माइ नगरपालिका लुम्बाकस्थित घरबाट सदरमुकाम हिँडिसकेको पनि उनले बताए ।

२० वर्षको उमेरमा फुएतप्पाबाट २०३७ सालमा घरबाट निस्केका दुर्गाप्रसाद बेपत्ता भएका थिए । दार्जिलिङ्ग पुगेर चिया कमानमा काम गरिरहेका उनलाई महिला हत्या आरोपमा दार्जिलिङ्ग प्रहरी पक्राउ गरी दार्जिलिङ्ग, सिलगुढी र पछिल्लो समयमा कलकत्ताको दमदम जेलमा राखिएको थियो ।

कलकत्ताको उच्च अदालतले रिहाई गर्न आदेश दिएसँगै शनिबार माई नगरपालिकास्थित लुम्बाक घरमा आएर उनी ८५ वर्षीया आमा, भाइको परिवारसँग बस्दै आएका छन् ।