अर्जुनधारा । आयुर्वेद तथा जडिबुटी र स्वास्थ्यवृत सम्बन्धी सरोकारवालाहरुलाई जानकारी दिने उद्धेश्यले शनिश्चरे आयुर्वेद औषधालयको आयोजनामा एक दिवसीय सचेतनामूलक कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

जनप्रतिनिधि, सञ्चारकर्मी र सरोकारवाला संघसंस्थाका प्रतिनिधिहरुलगायतलाई लक्षित गरि सञ्चालन गरिएको कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र झापाका प्रमुख डा अनिल यादव र औषधालयका प्रमुख वरिष्ठ कविराज अनिल ठाकुरले सहजीकरण गरेका थिए ।

डा. यादवले गाउँघरमा उपलब्ध हुने हर्रो, बर्रो, कुरिलो, दुवो, अर्जुन वृक्ष, अमला, अपराजिता, असुरो, दतिवनलगायतका गाउँघरमै पाइने अचुक जडिबुटीको प्रयोग विधि, उपचार पद्दति र फाइदाका बारेमा जानकारी गराएका थिए ।

त्यस्तै, कविराज ठाकुरले स्वस्थ जीवनयापनका विषयमा हरेक व्यक्तिले गर्नुपर्ने व्यवहार, दैनिकी, खानपान, रहनसहन, व्यायामलगायतका विषयमा जानकारी दिए ।

त्यस्तै, कार्यक्रममा आयुर्वेदको परिचय र महत्व, नेपालमा आयुर्वेदको विकासक्रम, जडिबुटीको परिचय, प्रयोग र मात्रा, स्थानीयस्तरमा पाइने जडिबुटीहरु, स्वस्थ जीवनशैलीका लागि आवश्यक व्यवहारहरुबारे जानकारी गराइएको थियो ।

सहभागीहरुकोतर्फबाट नगर पूर्वाधार समितिका संयोजक रमेश त्रिखत्री, प्रमुख सचिवालयका प्रतिनिधि गजेन्द्र खनाल, अर्जुनधारा प्रेस क्लबका उपाध्यक्ष रमेश समदर्शी, स्थनीय चन्दा ढुङ्गेललगायतले जिज्ञासा राखेका थिए ।

अर्जुनधारा–७ वडा समितिका अध्यक्ष एवम् औषधालय व्यवस्थापन समितिका संयोजक नवराम ढुंगानाको अध्यक्षता तथा नगर प्रमुख हरिकुमार रानाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नगर सभा सदस्य गोमा पर्वतेलगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा नगर प्रमुख रानाले कोभिड १९ का कारण पनि स्वास्थ्य सचेतना गराउन कार्यक्रम आयोजना गरिएको बताए । नगरबासीलाई खानपान, रहनसहनमा उचित प्रयोग भए नभएको बारे पनि जानकारी गराउनु कार्यक्रमको उद्देश्य रहेको उनले बताए ।

कोभिड-१९ रोगको संक्रमणबाट हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सहभागीहरुलाई मास्क र ह्यान्ड सेनिटाइजरको प्रयोग अनिवार्य गरिएको कार्यक्रममा २० जनाको सहभागिता रहेको थियो ।