झापा । दाङ र पर्साका संक्रमितलाई ‘हवाई बेड लिफ्ट’ गरी आज बिर्तामोड स्थित वीएण्डसी अस्पतालमा उपचारका लागि ल्याइएको छ ।

कोभिड-१९ का दुई जटिल बिरामीलाई थप उपचारका लागि उक्त ठाउँबाट यहाँ ल्याईएको हो । भेन्टिलेटरसहित आइसीयुको चरम अभाव भएपछि दाङ र पर्साका संक्रमितलाई ‘हवाई बेड लिफ्ट’ गरी वीएण्डसी अस्पतालमा ल्याइएको हो ।

अस्पतालमा कोरोनाका जटिल विरामीलाई थप उपचार गर्न अत्याधुनिक भेन्टिलेटरसहित आइसीयू शैय्या अलग्गै छ । वीएण्डसी र पूर्वाञ्चल क्यान्सर अस्पतालमा ६५ भेन्टिलेटरसहित आइसीयू शैय्या छ ।

तीमध्ये २५ भेन्टिलेटरसहित आइसीयू शैय्या कोभिडका विरामीलाई छुट्याएको र विरामीको आवश्यकता अनुसार थप गर्दै जाने अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले बताए ।

दाङको राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नौ दिनदेखि उपचाररत ४५ वर्षीय पेमा योगी र विरगञ्जस्थित अली अस्पतालमा उपचाररत २९ वर्षीय हरि पौड्याललाई ‘हवाई बेड लिफ्ट’ गरी वीएण्डसी अस्पतालमा ल्याइएको उनले जानकारी दिए ।

यसअघि पनि काठमाडौँ र नेपालगञ्जबाट कोभिडका विरामी उपचारका लागि वीएण्डसी ल्याइएको थियो ।