झापा । कोरोना संक्रमण बढेसँगै अक्सिजन अभाव हुन नदिन स्वास्थ्य संस्था बाहेकमा प्रयोग भैरहेको अक्सिजनका सिलिण्डर खोज्न झापामा प्रहरी परिचालन गरिएको छ ।

झापाका विभिन्न स्थानबाट खाली तथा भरी गरेर १३३ वटा सिलिण्डर संकलन गरिएको प्रहरीले जनाएको छ । प्रहरीले सबैभन्दा धेरै इलाका प्रहरी कार्यालय अनारमनी क्षेत्रबाट ९०, धुलाबारी क्षेत्रबाट १९, दमक र काँकरभिट्टा क्षेत्रबाट १२-१२ ओटा सिलिण्डर संकलन गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिए ।

कोरोना भाइरसका कारण संक्रमितको सङ्ख्या बढेसँगै अक्सिजन सिलिण्डरको माग बढिरहेकाले विभिन्न उद्योग, कलकारखाना तथा ग्यारेजमा रहेको अक्सिजनका सिलिण्डर प्रहरीले संकलन गरेको उनले बताए।

संकलन गरिएका सिलिण्डरहरु दमकको मातृका ट्रेडर्स, बिर्तामोडको कपुरी ब्रदर्स लगायत सप्लायर्सहरुमा रिफिलको लागि पठाइएको र कोभिडका बिरामी उपचार हुने अस्पतालहरुमा ती सिलिण्डर प्रयोग गरिने डिएसपी थापाले जानकारी दिए । अन्य स्वास्थ्य संस्थाहरुमा प्रयोग गर्नुपर्ने भए प्रमुख जिल्ला अधिकारीको अनुमति लिनु पर्ने उनको भनाइ छ ।