मेचीनगर । सफल डेरी उद्योगी तथा समाजसेवी राजन चिमरियाले मेचीनगरका १५ विपन्न घरपरिवारका निम्ति स्वास्थ्य विमा वापतको रकम सोमबार (आज) मेचीनगर स्वास्थ्य शाखालाई हस्तान्तरण गरेका छन् ।

स्वास्थ्य मापदण्ड अपनाएर नगरपालिका कार्यालय परिसरमा संक्षिप्त कार्यक्रम गरेर सो बराबरको रकम ५२ हजार ५ सय रुपैयाँ बुझाएका हुन् । समाजसेवी चिमरियाले नगर प्रमुख विमल आचार्यमार्फत स्वास्थ्य शाखा प्रमुख राम नारायण यादवलाई रकम हस्तान्तरण गरेका छन् ।

आफ्नो १८औँ वैवाहिक वर्षगाँठ (बैशाख २७ गते) को अवसरमा रितिका डेरी उद्योगका सञ्चालक समेत रहेका चिमरियाले मेचीनगरका १५ विपन्न घरपरिवारको पहिचान गरी उनीहरुको स्वास्थ्य विमा गरिदिने घोषणा गरेका थिए ।

चिमरियाले जो स्वास्थ्य विमा गराउन नसकिरहेका परिवारका निम्ति सानो सहयोगको गरेको बताए । उनले आफ्नो विशेष दिनलाई समाजसँग जोडेर हितकारी काममा लगाएको र त्यसैलाई निरन्तरता दिने प्रयास गरेको बताए ।

सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत विमा गराएकाको उपचार निशुल्क गरिन्छ । बढीमा पाँच सदस्य परिवारको विमा गराएवापत पाँच सदस्य बराबर ३ हजार ५ सय वार्षिक बुझाउनु पर्छ । उक्त रकम बुझाएवापत हरेक सदस्य बिरामी परे एक लाख बराबरको उपचार खर्च सरकारले व्यहोर्छ ।

उनले आउँदो कात्तिक १६ गते आफ्नो जन्मदिनको अवसरमा १५ घरपरिवारको स्वास्थ्य विमा गरिदिने घोषणा पनि गरेका छन् । चारआली–धाइजन निवासी चिमिरियाले २०६१ सालमा सुरुंगा निवासी गौरा मैनालीसँग विहे गरेका हुन् । विहेपछि हरेक वर्ष वैशाख २७ गते र आफ्नो जन्मदिन कात्तिक १६ गते यसरी नै सहयोग गर्दै आएका छन् ।