झापा । झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या बढ्दै गएको छ । आइतबार तीन जनाको मृत्यु भएकोमा सोमबार पाँच जनाले ज्यान गुमाएका छन् ।
मृत्यु हुनेहरुमा अर्जुनधाराका दुईसहित चार पुरुष र एक महिला छन् । अर्जुनधारा नगर स्वास्थ्य शाखाका अनुसार मृत्यु हुनेमा अर्जुनधारा ५ का प्रधान थरका ६१ वर्षीय बृद्ध रहेका छन् । उनको उपचारका क्रममा धरानमा मध्यरातमा मृत्यु भएको हो ।
त्यस्तै, अर्जुनधारा ९ का अधिकारी थरका ४२ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । उनको सोमबार बिहान ३ बजे बिर्तासिटी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो । उनीहरुको आजै कनकाई माइमा दाहसंस्कार गरिएको छ । योसँगै अर्जुनधारामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या यसपटक ३ पुगेको छ ।
त्यस्तै बिर्तामोड ६ की ५० वर्षीया महिलाको होम आइसोलेसनमा मृत्यु भएको छ । सोमबार विहान ११ बजे उनको घरमै मृत्यु भएको नगरपालिकाका सिनियर अहेब दीपक सापकोटाले बताए । चार दिनअघि बिएण्डसी हस्पिटलमा परीक्षण गराउँदा उनलाई संक्रमण पुष्टि भएको थियो । योसँगै नयाँ भेरियन्टबाट बिर्तामोडमा ४ जनाको मृत्यु भइसकेको छ ।
त्यस्तै बिर्तासिटी हस्पिटलमै शिवसताक्षीका एक कोरोना संक्रमित बृद्धको सोमबार बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नं १० का ८५ वर्षिय बृद्ध रहेका छन् ।
त्यस्तै गौरादहका एक पूर्वजनप्रतिनिधिको कोरोना संक्रमणबाट मृत्यु भएको छ । ६८ बर्षीय पूर्व वडाध्यक्षको दमकको एड्भान्स अस्पतालमा उपचारका क्रममा सोमबार बिहान ८ बजे मृत्यु भएको हो । उनलाई आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो ।
यसअघि पनि गौरादह ४ कै एक जना महिलाको मृत्यु भएको थियो । दोस्रो लहरको कोरोना शुरु भएयता गौरादहमा २ जनाको मृत्यु भएको छ । योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या १५६ पुगेको छ ।