बिर्तामोड । पछिल्लो केही दिनदेखि झापामा कोरोना भाइरसको संक्रमण दर घट्दै गएको छ । शनिबार १९७ जनामा मात्र संक्रमण पुष्टि भएको छ ।

बिहीबार २७६ जनामा संक्रमण पुष्टि हुँदा ५ जनाको मृत्यु भएको थियो । त्यस्तै, शुक्रबार घटेर २१३ जनामा संक्रमण पुष्टि भएको थियो भने एक जनाको मात्र मृत्यु भएको थियो । यसअघि संंक्रमण दर ३ सयभन्दा माथि थियो भने मृत्यु दर ८ जनासम्म पुगेको थियो ।

पछिल्लो २४ घण्टाभित्र झापामा मात्र १९७ जनामा संक्रमण पुष्टि भयो । स्वास्थ्य कार्यालय झापाका अनुसार पीसीआरतर्फ १७८ र एन्टिजेनको परीक्षणबाट १९ जनामा संक्रमण पुष्टि भएको हो । जसमा ८३ जना महिला छन् ।

सबैभन्दा बढी बिर्तामोडमा १६ महिलासहित ३९ जना, दमकमा १२ महिला र १२ पुरुष, भद्रपुरमा ८ महिलासहित २३ जना, अर्जुनधारामा ८ महिलासहित २२ जना, झापा गाउँपालिकामा १३ महिलासहित २३ जना, शिवसताक्षीमा ३ महिलासहित ११ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, मेचीनगरमा ५ महिलासहित १२ जना, कमलमा १ महिलासहित ४ जना, हल्दिबारीमा ३ महिलासहित ८ जना, कचनकवलमा २ महिला र पालिका नखुलेका एक जना पुरुषमा पनि संक्रमण पुष्टि भएको कोभिड फोकल पर्सन जीवन चम्लागाईंले जानकारी दिएका छन् ।

यो सँगै झापामा कुल संक्रमितको संख्या ७५८८ रहेको छ भने निको भएर घर फर्किनेको संख्या ४८१२ पुगेको छ । यस्तै, विभिन्न आइशोलेसनमा पीसीआरतर्फका २६१३ जना सक्रिय संक्रमित छन् । एन्टिजेनतर्फ आज ५७ जना डिस्चार्ज भए । मृत्यु हुनेको संख्या कुल १७१ रहेको छ ।