ताप्लेजुङ । ताप्लेजुङमा पीसीआर परीक्षणका लागि स्वाब दिएको एक हप्तामा पनि रिपोर्ट नआएपछि स्वाब दिएकाहरू अन्योलमा परेका छन् ।

फुङलिङ नगरपालिकाको सुकेटार क्षेत्रबाट स्वाब सङ्कलन गरी पठाएको पीसीआर परीक्षण रिपोर्ट अझै आएको छैन । सुकेटारबाट १५२ जना र जिल्ला अस्पतालमा सङ्कलन गरिएका ५४ गरी २६ जनाको स्वाब पठाएकोमा सोमबार १०६ जनाको रिपोर्ट आएको र बाँकी सुकेटार क्षेत्रमा सङ्कलन गरिएको एक सय जनाको स्वाबको रिपोर्ट अझै आएको छैन ।

गएको बिहीबार स्वाब दिए पनि अहिलेसम्म रिपोर्ट नआएको नरेन्द्र कटुवालले बताउनुभयो । ताप्लेजुङमा शङ्कास्पद लक्षण देखिएका र कोरोना सङ्क्रमितसँग सम्पर्कमा रहेकाहरूको स्वाब सङ्कलन गरेर परीक्षण गर्न मोरङको विराटनगर र झापाको भद्रपुरमा पठाउने गरिएको छ ।

समयमा रिपोर्ट नआउँदा सङ्क्रमित भइहालेमा जोखिम र उपचारमा समेत समस्या हुने गरेको छ । विभिन्न जिल्लाबाट स्वाबको चाप भएकाले परीक्षणमा ढिलाइ हुने गरेको जानकारीमा आएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताउनुभयो ।

सुकेटार क्षेत्रको बाँकी रहेका बाहेक पनि फुङलिङ नगरपालिकाबाट १५४ जना र सिरिजङ्घा गाउँपालिकाबाट ४९ गरी २०३ जनाको स्वाब सङ्कलन गरी पीसीआर परीक्षण गर्न पठाइएको स्वास्थ्य कार्यालयकी जनस्वास्थ्य अधिकृत प्रतिमा खरेलले बताउनुभयो । उज्यालो अनलाइनबाट