झापा । झापाको गौरादह ४ मा बिहेघरमा कोरोना संक्रमण देखिँदा बेहुला र बेहुलाकी आमाको मृत्यु भएको छ ।

बेहुला गौरादह ४ खङटाका ३० वर्षीय सन्तोष ताजपुरियाको कोशी कोभिड अस्पतालमा गएराति १२ः४५ बजे मृत्यु भएको हो । यसअघि आमा शान्तिदेवी ताजपुरियाको बैशाख २३ गते मृत्यु भएको थियोे ।

बैशाख १५ गतेतिर सन्तोषको विवाह भएको थियो । विवाह भएको केही दिनमै बेहुला सन्तोष, उनकी नवदुलही, आमासहित पाँच जनाको पूरै परिवारलाई संक्रमण देखिएको थियो । उपचारका क्रममा सन्तोषकी आमा शान्तिदेवीको बैशाख २३ गते मृत्यु भएको हो ।

सन्तोष बैशाख २४ गतेदेखि उपचाररत थिए । गएराति उनको पनि मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखाका गोविन्द श्रेष्ठले जानकारी दिए । त्यस्तै सन्तोषकी श्रीमतीको कोशी कोभिड अस्पतालमा उपचार भइरहेको उनले बताए ।

मानिसको भीडभाड हुनेगरी भएको विहेबाटै संक्रमण सरेको नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीले बताए । योसँगै गौरादहमा नयाँ भेरियन्टबाट मृत्यु हुनेको सँख्या ५ पुगेको छ ।