झापा । झापाको शिवसताक्षी नगरपालिका वडा नं २ मंगलबारे बजारमा मध्यरातमा भएको आगलागीबाट लाखौंको क्षति भएको छ ।

स्थानीय नन्दकला राईको घरबाट शुरु भएको आगलागीबाट दुईवटा घर पूर्णरूपमा जलेर क्षतिग्रस्त भएको हो । आगलागीबाट छिमेकी नेत्र चिमरिया र नन्दमायाको घर र घरमा रहेका होटल, पसल सबै जलेर नष्ट भएको शिवसताक्षी नगरपालिका वडा नं २ का वडाध्यक्ष कुलबहादुर बस्नेतले बताए ।

चिमरियाको आफ्नो जीउको लुगाबाहेक केही पनि नजोगिएको उनले बताएका छन् । राति १ः३० बजेदेखि शुरु भएको आगो बिहान ३ बजे नियन्त्रणमा आएको थियो । स्थानीय र तीनवटा दमकलको सहायताले आगो नियन्त्रणमा आएको वडाध्यक्ष बस्नेतले बताए । आगलागीबाट भएको क्षतिको विवरण आइसकेको छैन ।

इलाका प्रहरी कार्यालय झिलझिले, स्थानीयबासी, कमल गाउँपालिका, दमक नगरपालिका र गौरादह नगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रण गरिएको हो ।