विराटनगर । विराटनगरको नोबेल शिक्षण अस्पतालले अक्सिजनको चरम अभाव भएको भन्दै नयाँ संक्रमित बिरामीको भर्ना लिन छाडेको छ ।

सप्लाई गर्दै आएको अक्सिजन उद्योगमा समस्या आएकाले अक्सिजनको चरम अभाव भएपछि थप संक्रमितलाई भर्ना नलिने अस्पतालले जनाएको हो ।

अस्पतालका प्रबन्ध निर्देशक नारायण दाहालले अस्पतालमा उपचाररत संक्रमितका लागि मात्र अक्सिजनको जोहो रहेकाले आजबाट थप संक्रमित भर्ना बन्द गरिएको बताए ।

‘हिजोदेखि एक्कासि अक्सिजन उद्योगमा समस्या आएको भन्दै अस्पतालमा पनि अक्सिजन सप्लाई बन्द गरिएको छ’ दाहालले भने, ‘यस्तो अवस्थामा अस्पतालमा रहेका बिरामीलाई उपचारका लागि अन्यत्र पठाउन मिल्दैन।’

त्यसैले अस्पतालमा भएका बिरामीका लागि आवश्यक अक्सिजनको जोहोमा हामी जुटेका छौ’ तर अहिलेको यो अवस्थामा थप संक्रमित लिएर उपचार गर्न नसक्ने अवस्थामा रहेको उनले बताए ।

अस्पतालको कोभिड युनिटमा हाल १ सय ७२ जना संक्रमित उपचाररत रहेका छन्, जसमा २७ जना भेन्टिलेटरमा राखेर उपचार गरिरहेको दाहालले बताए ।

अस्पतालमा उपचाररत संक्रमितका लागि दैनिक १ सय ८० सिलिन्डर अक्सिजन आवश्यक रहेकोमा अन्यत्रबाट गरी १ सय ५० सिलिन्डर व्यवस्थापन गरिएको र थप आवश्यक सिलिन्डर जोहो गर्ने कार्यमा अस्पताल प्रशासन लागेको दाहालको भनाई छ ।